यस्तो छ डेपुटी गभर्नर पण्डितको सम्पत्ति विवरण

'२० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा'


काठमाडौं – नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डितले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार पण्डित तथा उनका परिवारका नाममा विभिन्न स्थानमा जग्गा, सुनचाँदी र बैंक मौज्दात रहेको देखिएको छ।

विवरण अनुसार काठमाडौंको टोखा नगरपालिकामा उनकी पत्नी कामना शर्मा पण्डितका नाममा २ करोड २० लाख रुपैयाँ बराबरको जग्गा रहेको उल्लेख छ। यसैगरी काठमाडौंकै तारकेश्वरमा श्रीमतीको नाममा ६९ लाख रुपैयाँ बराबरको जग्गा रहेको छ भने कैलालीको धनगढीमा आफ्नै नाममा १० लाख रुपैयाँ बराबरको जग्गा रहेको विवरणमा उल्लेख छ।

परिवारतर्फ बुबा केशरीराज पण्डितका नाममा तनहुँको दमौलीमा ११ रोपनी जग्गा र आमाको नाममा काठमाडौंमा ६ रोपनी जग्गा रहेको देखिएको छ। यस्तै, आमाको नाममा काठमाडौंको सामाखुशीमा साढे २ तले घर रहेको र उक्त सम्पत्ति पैतृक भएको जनाइएको छ।

पण्डितले आफ्नो व्यक्तिगत सम्पत्तिमा २० तोला सुन, २५० तोला चाँदी र करिब २ लाख रुपैयाँ बराबरको हिरा रहेको खुलाएका छन्। उक्त सम्पत्तिको स्रोत विवाह, पास्नी तथा निजी आर्जन भएको उल्लेख छ। नियुक्ति भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने कानुनी प्रावधान छ। उनी गत चैत्र २४ गते डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।