हिमालयन रिमा ‘लहरो तान्दा पहरो थर्कियो’, सम्पत्ति शुद्धीकरण छानबिनले सञ्चालकहरूको भागाभाग


काठमाडौं – हिमालयन रिइन्स्योरेन्समा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको लहरो तानिँदा अहिले पूरा संरचना नै थर्किएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धानमा नाम जोडिएसँगै कम्पनीभित्र राजीनामाको शृङ्खला सुरु भएको हो। पछिल्लो घटनाक्रममा सञ्चालक समितिका थप चार सदस्यले पद त्यागेका छन्।

यसअघि अध्यक्ष शेखर गोल्छाको फागुन २५ गते पदबाट राजीनामा दिएपछिको राजीनामा दिनेको लर्को लागेको हो। कम्पनीका अनुसार अमित मोर, राजीव मोर, सुभेच्छा खरेल र सुभास कुमार झुनझुनवालाले आफ्नो पदबाट राजीनामा दिएका छन्।

उनीहरूको राजीनामा गत शुक्रबार नै स्वीकृत भइसकेको छ। स्रोतका अनुसार, पब्लिक कम्पनीको रकम दुरुपयोग गर्दै दीपक भट्टका नाममा शेयर किनबेच गराउन सहयोग गरेको आरोपपछि उनीहरू बाहिरिन बाध्य भएका हुन्।

यो प्रकरणले हिमालयन रिको सञ्चालक समितिको संरचना हल्लिएको छ। राजीनामापछि रिक्त स्थानमा दीपक कुमार मिश्र र आशिष चन्द्र न्यौपानेलाई वार्षिक साधारण सभासम्मका लागि नयाँ सञ्चालकका रूपमा ल्याइएको छ। योसँगै कम्पनीले दोस्रो पटक सञ्चालक समिति पुनर्गठन गरेको हो।

यसअघि चैत २५ गते उदय कुमार निरौला, दिपेन्द्र कुमार मिश्र र पृथ्वी राज थापालाई सञ्चालकमा नियुक्त गरिएको थियो। हाल निरौलाले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। विवाद थप बढ्दै गएको छ। पूर्व सञ्चालक साहील अग्रवाल प्रहरीको फरार सूचीमा छन् भने आधारभूत शेयरधनी दीपक भट्ट अनुसन्धानकै क्रममा प्रहरी हिरासतमा छन्।

यति मात्र होइन, कम्पनीको व्यवस्थापन टोली पनि अनुसन्धानको घेरामा परेको छ। नेपाल बीमा प्राधिकरणले व्यवस्थापनसँग स्पष्टीकरण मागिसकेको छ। हिमालयन रिमा देखिएको यो ‘डोमिनो इफेक्ट’ ले नेपालको पुनर्बीमा क्षेत्रमै समस्या देखा परेको छ।