काठमाडौं – नेपाल राष्ट्र बैंकले १० रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो।
केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा प्रतिशतका आधारमा लगानी हुनेछ। उक्त रकममध्ये वाणिज्य बैंकमा ८ अर्ब रुपैयाँ, विकास बैंकमा १ अर्ब ५० करोड वित्त कम्पनीमा ५० कराेड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने गरी छुट्याइएको छ।
राष्ट्र बैंकले ३ सय ६६ दिनको मुद्दती निक्षेपमा राख्न लागेको हो। उक्त रकम निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले आगामी बिहीबार अर्थात् वैशाख १० गतेसम्म माग आवेदन बुझाउनपर्नेछ।
उक्त रकम निक्षेपमा लिन चाहने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। राष्ट्र बैंकबाट तोकिएको न्यूनतम कुल पुँजीकोष (बफरसहित) कायम गरेको हुनुपर्ने, निष्क्रिय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्नेछ।
खुद तरल सम्पत्ति केन्द्रीय बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको हुनुपर्ने, कर्जा निक्षेप अनुपात समय–समयमा निर्धारण गरिएको सीमाभित्र रहेको हुनुपर्ने र निकटतम अघिल्लो आर्थिक वर्षको नाफा नोक्सान हिसाब अनुसार खुद मुनाफामा रहेको हुनुपर्ने सर्त राष्ट्र बैंकको छ।
त्यसैगरी निक्षेप लगानी गरिने बैंक तथा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए यस्तो कारबाही फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, त्यस्तै राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको हुनुपर्ने र भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको हुनुपर्ने तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्ने सर्त केन्द्रीय बैंकको छ।



About Us
प्रतिक्रिया