काठमाडौं – अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र केन्द्रीय बैंक फेडरल रिजर्भका प्रमुख (गभर्नर) जेरोम पावेलबीच टकराव देखिएको छ। ट्रम्पले पावेललाई पदबाट हटाउने चेतावनी समेत दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम फाइनान्सियल टाइम्सकाअनुसार ट्रम्पले नयाँ प्रमुखका रूपमा प्रस्तावित केविन वार्शलाई समयमै अनुमोदन गर्नुपर्ने बताएका छन्। वार्शको नियुक्ति अमेरिकी सिनेटबाट स्वीकृत हुनुपर्ने हुन्छ। तर त्यसमा ढिलाइ हुने सम्भावना देखिएको छ। राष्ट्रपतिले मे १५ अघि वार्शको नियुक्ति स्वीकृत नभए जेरोम पावेललाई पदबाट हटाउने प्रयास गर्ने बताएका छन्।
सन् २०१८ फेब्रुअरी ५ देखि अमेरिकाको फेडरल रिजर्भ (केन्द्रीय बैंक) का १६औँ प्रमुखका रूपमा पावेल कार्यरत छन्। उनको दोस्रो चार वर्षे कार्यकाल सन् २०२६ मे १५ मा सकिँदैछ। उनी सन् २०१२ मा फेडरल रिजर्भको बोर्ड अफ गभर्नर्समा नियुक्त भएका थिए। उनको कार्यकाल २०२६ मा सकिए पनि गभर्नरका रूपमा उनको पदावधि सन् २०२८ जनवरी ३१ सम्म कायम रहनेछ। रोचक के छ भने पावेललाई सन् २०१७ मा ट्रम्प आफैंले नियुक्त गरेका थिए। ट्रम्पले पावेलमाथि ब्याजदर घटाउन नमानेको भन्दै पटकपटक आलोचना गर्दै आएका छन्। उनले पावेललाई जिद्दी भन्दै कडा शब्दमा आलोचनासमेत गरेका छन्।
तर पावेल भने आफू कानुनअनुसार पदमै रहने दाबी गर्छन्। उनका अनुसार नयाँ व्यक्ति नियुक्त नभएसम्म उनी कार्यवाहक रूपमा जिम्मेवारी सम्हाल्न सक्छन्। अमेरिकी कानुनअनुसार पनि नयाँ प्रमुख नआउँदासम्म पुरानै प्रमुखले काम जारी राख्न पाउने व्यवस्था रहेको छ। यद्यपि, ट्रम्प पक्षका केही नेताहरूले भने राष्ट्रपतिले अन्तरिम रूपमा अरू कसैलाई प्रमुख बनाउन सक्ने तर्क गरिरहेका छन्। यसले कानुनी विवाद बढ्ने देखिन्छ। केन्द्रीय बैंकको मुख्यालय मर्मतसम्बन्धी करिब २.५ अर्ब डलरको प्रकरणमा भइरहेको अनुसन्धान फिर्ता नलिने अडान लिँदा पावेलसँग टकरावको सम्भावना झन् बढेको छ।
वार्शको नियुक्ति प्रक्रिया पनि सहज देखिएको छैन। प्रशासनले संसदीय प्रक्रियालाई छलेर अघि बढ्न खोजे पनि रिपब्लिकन नेताहरूमै उक्त अनुसन्धानलाई केन्द्रीय बैंकको स्वतन्त्रतामाथिको खतरा भन्दै असन्तुष्टि देखिएको छ। यस कारण वार्शले सिनेटमा आवश्यक मत जुटाउन कठिन हुने अनुमान गरिएको छ।
यस विवादले फेडरल रिजर्भको स्वायत्तता संकटमा पर्ने जोखिम रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण छ। धेरैले केन्द्रीय बैंक राजनीतिक दबाबबाट टाढा रहनुपर्ने बताउँदै आएका छन्। अर्कोतर्फ, पावेलको कार्यकाल प्रमुखको रूपमा मे महिनामा सकिए पनि उनी सन् २०२८ सम्म बोर्ड सदस्यका रूपमा रहन सक्छन्। विश्लेषकहरूका अनुसार यो विवादले विश्वकै सबैभन्दा महत्वपूर्ण केन्द्रीय बैंकको विश्वसनीयतामै असर पार्न सक्छ। साथै, अमेरिकी अर्थतन्त्र र विश्व बजारमा पनि यसको प्रभाव पर्ने सम्भावना रहेको छ।



About Us
प्रतिक्रिया