एक वर्षमा राष्ट्रिय जीवन बीमा कम्पनीका सीईओ पन्थीले गराए ७ वर्षको एजीएम


काठमाडौं – गत वर्ष २०८१ को माघ महिनामा सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुन्दर पन्थी नियुक्त भए । कम्पनी सञ्चालक समितिले चारवर्षे कार्यकालका लागि पन्थीलाई सीईओमा नियुक्त गरेको हो ।

गत वर्ष कार्यभार सम्हाल्दा नै सीईओ पन्थीको प्रमुख चुनौती थियो कम्पनीको वार्षिक साधारण सभा । कम्पनीले आर्थिक वर्ष २०६९/७० यता वार्षिक साधारण सभा गर्न सकेको थिएन । तर, सीईओका रुपमा पन्थीले कार्यभार सम्हाले लगतै चालु वर्ष २०८२ को वैशाखमा नै एकैपटक ५ आर्थिक वर्षको साधारण सभा डाके ।

कम्पनीले आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मको वार्षिक साधारण सभा एकै पटक सम्पन्न गरेको हो । सीईओमा पन्थी आएसँगै कम्पनीले आफ्नो रोकिएका सबैजसो व्यवसायीक गतिविधि अघि बढाइरहेको समयमा एकैपटक ५ आर्थिक वर्षको साधारण सभा समेत सुसम्पन्न गरेको हो ।

संस्थाबाट कम्पनीमा परिणत भएपछि लामो समयदेखि रोकिइरहेको साधारण सभाका साथै अन्य कामहरू पनि अघि बढेको छ । कम्पनीको साधारण सभा रोकिँदा अडिटदेखि धेरैजसो काम रोकिएका थिए । कम्पनीले यहीँ २७ गते पनि दुई आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को साधारणसभा सम्पन्न गरेको हो ।

गत शुक्रबारको सो साधारण सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ का वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ । साथै, कम्पनीको समग्र वित्तीय अवस्था, व्यवस्थापन सुधार तथा बीमा सेवा विस्तार सम्बन्धी विभिन्न विषयहरूमा समेत विस्तृत छलफल भएको छ ।

एकै वर्षमा ७ वर्षको साधारण सभा सम्पन्न गराएका सीईओ पन्थीले बीमा सेवाको पहुँच विस्तार, ग्राहक सेवा सुदृढीकरण तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउने बताए ।