काठमाडौं – सरकारले बाली तथा पशुधन बीमा को ‘प्रिमियम’मा अनुदानबापत एक अर्ब ६० करोड रूपैयाँ भुक्तानी गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत आर्थिक वर्षमा पशुपक्षी बीमातर्फ एक अर्ब ४३ करोड रूपैयाँ तथा बाली बीमातर्फ १७ करोड रूपैयाँ भुक्तानी गरेको हो।
पशुपक्षी तथा मत्स्यतर्फ एक लाख ६६ हजार ७११ र बाली धनतर्फ एक हजार ६३४ गरी एक लाख ६८ हजार ३४५ बीमालेख जारी गरिएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। जारी गरिएका बीमालेखलाई नेपाल बीमा प्राधिकरणले प्रमाणीकरण गरेपछि किसानलाई भुक्तानी गरिन्छ। मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म बीमा बापतको करिब ९० लाख रूपैयाँ भुक्तानी गरेको छ। जारी गरिएका केही बीमालेख प्रमाणीकरणको चरणमा रहेका सूचना अधिकारी जोशीले बताए।
बीमा कम्पनीले बीमा गरेको ३० दिनभित्र प्रदेशस्थित कृषि, मत्स्य तथा पशुपन्छी कार्यालयको सिफारिससहित बीमा प्राधिकरणमा अनुदानका लागि निवेदन दिनुपर्छ। कृषकलाई जोखिम कम गर्न र लगानी सुरक्षित गर्न सरकारले बाली तथा पशुधन बिमाको प्रिमियममा ५० लाख रूपैयाँसम्मको बिमामा ८० प्रतिशत र सोभन्दा बढीको बिमामा ६५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने गरेको जोशीले बताए। कृषिमा निजी तथा सहकारी क्षेत्रको लगानी सुरक्षा र आकर्षण बढाउन बीमा कार्यक्रममा बाली, माछा र पशुपन्छीलाई समावेश गरिएको छ।



About Us
प्रतिक्रिया