असफल बन्यो इरान अमेरिका वार्ता प्रयास, विश्वबजारमा कच्चा तेलको मूल्य अझै बढ्ने जोखिम


काठमाडौं – इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको वार्ता प्रयास असफल बनेको छ। एक महिना अघिदेखि इजरायल र अमेरिकाले संयुक्तरुपमा इरानमाथि थालेको आक्रमणपछि सुरु भएको युद्धि रोक्ने लक्ष्यसहित पाकिस्तानमा भएको वार्ता प्रयास असफल भएको हो।

यससँगै, पश्चिम एसियामा गरिएको शान्तिको अपेक्षा अझै अनिश्चिन बनेको छ। पश्चिम एसिया युद्धका कारण यतिबेला विश्वभर अर्थतन्त्र प्रभावित बनिरहेको छ। विश्वको २० प्रतिशत कच्चा तेलको आपूर्ति हुने ‘स्ट्रेट हर्मज’ बन्द हुँदा कच्चा तेल र खाना पकाउने ग्यासको मूल्य बढेको छ। जसले विश्वभरको अर्थतन्त्र प्रभावित बनेको हो।

युद्ध रोक्ने लक्ष्यसहित वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्सको तेतृत्वमा पाकिस्तान आएको थियो। यस्तै, इरानका सभामुख मोहम्मद बाघिर घलिवाफको नेतृत्वमा टोली पाकिस्तान आएको थियो। १२ घन्टा चलेको वार्ता टुंगोमा पुग्न नसकेपछि दुवै देशका प्रतिनिधिमण्डल स्वदेश फर्किएका छन्।

यससँगै, विश्व बजारमा फेरी तेलको मूल्य १०० डलर प्रतिब्यारेल पुग्ने जोखिम बढेको छ। गत साता इरान र अमेरिका युद्धविरामका लागि तयार भएलगत्तै प्रतिब्यारेल १०० अमेरिकी डलरबाट घटेर कच्चा तेलको मूल्य ९६ अमेरिकी डलरमा झरेको थियो। वार्ता प्रयास विफल भएसँगै फेरी मूल्य बढ्ने जोखिम बढेको हो।

जसको प्रभाव नेपालमा समेत पर्नेछ। नेपालमा यतिबेला पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर २०६ रुपैयाँ पुगेको छ। यस्तै, खाना पकाउने ग्यासको मूल्य २ हजार प्रतिसिलिन्डरभन्दा माथि पुगेको छ।