काठमाडौं – का नेपालको लेखा व्यवसायको नियामक निकाय, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले आर्थिक वर्ष २०८३/८४ को संघीय बजेटका लागि क्षेत्रगत सुझाव र राय संकलन गर्ने उद्देश्यले देशव्यापी ‘पूर्व–बजेट अन्तरक्रिया कार्यक्रम’ सुरु गरेको छ।
अन्तरक्रियामार्फत देशभरबाट संकलित सुझावहरुको विस्तृत प्रतिवेदन बनाएर सरकारलाई बुझाउने कार्यक्रम रहेको छ। आर्थिक तथा वित्तीय नीतिहरूमा सरकारलाई सल्लाह दिने आफ्नो वैधानिक जिम्मेवारी अन्तर्गत आइक्यानले यी कार्यक्रमहरूको समन्वय र प्रतिवेदन तयारीका लागि एक विशेष कार्यदल नै परिचालन गरेको छ।
यो अभियान नेपालका सात प्रमुख आर्थिक केन्द्रहरू– विराटनगर, वीरगन्ज, चितवन, धनगढी, बुटवल, पोखरा, र नेपालगन्ज लगायतका सहरहरूमा सञ्चालन भइरहेको छ। अन्तरक्रिया कार्यक्रमहरूमा कृषि व्यवसाय, पर्यटन, सीमापार व्यापार र निर्यातमुखी उद्योग जस्ता क्षेत्रीय प्राथमिकताका विषयमा केन्द्रित रहेर छलफल गरिनेछ।
अभियानको समापनमा काठमाडौंमा आगामी वैशाख ४ देखि ६ गते (१७–१९ अप्रिल २०२६) सम्म तीनवटा विशेष सत्रहरू आयोजना गर्ने तयारी छ। ती सत्रहरूमा वित्तीय क्षेत्र र लगानी वातावरण, लेखा व्यवसायका समसामयिक मुद्दाहरू तथा उत्पादन र पूर्वाधार क्षेत्रमा केन्द्रित रहेर गहन छलफल हुनेछ। सार्वजनिक सहभागिता र पारदर्शिता सुनिश्चित गर्न काठमाडौंका कार्यक्रमहरू आइक्यानको आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण समेत गर्ने योजना छ।



About Us
प्रतिक्रिया