सोल्टी होटलबाट विदेशी लगानी बाहिरियो,पूर्वराजाको कम्पनीले ४८ करोडको सेयर किन्यो

सोल्टी होटलबाट विदेशी लगानी बाहिरियो,पूर्वराजाको कम्पनीले ४८ करोडको सेयर किन्यो


बैकिङ्ग समाचार । 
सोल्टी होटलबाट विदेशी लगानीकर्ताले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरेको छ । विदेशी कम्पनीको स्वामित्वमा रहेको सेयर पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारमा स्वामित्व रहेको सोल्टी इन्टरप्राइजेजले उक्त सेयर किनेको छ ।

हङकङको कम्पनी ‘होलिडे इन्स इन्भेस्टमेण्ट लिमिटेड’ ले आफ्नो स्वामित्वमा रहेको ८४ लाख २५ हजार ७०६ कित्ता संस्थागत सेयर प्रतिकित्ता ५६ रुपैयाँ ६ पैसाका दरले ४७ करोड २३ लाख ४५ हजार रुपैयाँमा बिक्री गरेको हो ।

उक्त सेयर ३४ नम्बर ब्रोकरबाट बिक्री भएको छ भने ३३ नम्बर ब्रोकरबाट खरीद भएको छ ।

झण्डै एक वर्षअघि सोल्टी इन्टरप्राइजेज र इन्सबीच सेयर स्वामित्व बिक्रीका लागि सहमति पनि भएको थियो । त्यसयता उक्त सेयर डिम्याट खातामा लैजानु पर्ने भएकोले नै बल्क कारोबार भएको छ ।

यससँगै होटलमा रहेको १० प्रतिशत वैदेशिक लगानी फिर्ता भएको छ भने शेयर बिक्रीपछि होटलमा शतप्रतिशत नेपाली लगानीकर्ताको मात्र स्वामित्व भएको छ । 

वैदेशिक लगानी फिर्ता लैजान हङकङको उक्त कम्पनीले उद्योग विभागमा धेरै अगाडिदेखि प्रकृया बढाइरहेकोमा आइतबार आएर आफ्नो स्वामित्वको शेयर बिक्री गरेको हो ।आइतबार होटल सोल्टीको सेयर मूल्य प्रतिकित्ता १९० रुपैयाँ रहेको छ ।

आइतबार सबै भन्दा बढी ४८ करोड ५६ लाख ५१ हजार ८७९ रुपैयाँको सेयर किनबेच भएको छ ।