सम्भव भएसम्म घरबाटै काम गर्न सरकारको आह्वान


काठमाडौं- युद्धका कारण इन्धन संकट चुलिएको भन्दै सरकारले घरबाटै काम गर्न आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले इन्धनको खपत घटाउन वैकल्पिक उपाय अपनाउने नीति लिएको जानकारी दिइन्।

उनले भनिन्,’बढ्दो इन्धन समस्यासँग जुध्न सरकारले जनतालाई सम्भव भएसम्म घरबाटै काम गर्न र विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिन आह्वान गर्दछ।’

पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गर्दै सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको सामान्य प्रशासनमन्त्री रावलले जानकारी दिए। मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भनिन्, ‘पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यावहारिक देखिएको छ। मूल्य समायोजनको बाध्यता छ। सरकारले यो तथ्य लुकाउँदैन।’

सामान्य प्रशासनमन्त्री रावलका अनुसार पेट्रोलियम पदार्थमा सरकारलाई पछिल्लो १५ दिनमा मात्रै करिब ११ अर्ब ७२ करोड रूपैयाँ घाटा भइरहेको छ। इन्धन खपत घटाउन आइतबार पनि सार्वजनिक बिदा दिने, सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्न सकिने र इभी (विद्युतीय सवारी) तथा इथानोलको प्रयोगलाई प्रोत्साहन गर्ने नीति अघि सारिएको उनले स्पष्ट पारिन्।