काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि उद्यमी रामचन्द्र संघईले उम्मेदवारी दिने पक्का भएको छ। देशभरका उद्यमी व्यवसायी तथा महासंघका पूर्व अध्यक्षहरूसँगको व्यापक छलफल र परामर्शपछि संघईले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेका हुन्।
विगत २२ वर्षदेखि महासंघमा सक्रिय संघई यसअघि महासंघका उपाध्यक्षसमेत रहिसकेका छन्। संघईले रविभक्त श्रेष्ठको कार्यकालदेखि महासंघमा आफ्नो सक्रियता बढाउँदै आएका हुन् भने शेखर गोल्छाको कार्यकालमा एसोसियटतर्फ उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति भएर काम गरिसकेका छन्।
त्रिवेणी ग्रुपका निर्देशकसमेत रहेका संघईले उद्योगी व्यवसायीको हकहितका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिन लागेको बताएका छन्। त्रिवेणी ग्रुपअन्तर्गत उत्पादनमूलक, सेवामूलक तथा कृषिजन्य गरी दर्जनौँ उद्योग सञ्चालनमा रहेका छन्, जसमा करिब १८ हजार श्रमिक परिवार आबद्ध छन्।
संघई साना तथा मझौला उद्यम क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्। उनले ती क्षेत्रका व्यवसायीले भोगिरहेका समस्याबारे आफू पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै समाधानका लागि पहल गर्ने बताएका छन्। उनका अनुसार उद्योगी–व्यवसायीका समस्या बुझ्न सक्ने, रोजगारी सिर्जना गर्न सक्ने, उत्पादन वृद्धि गर्न सक्षम तथा सरकारसँग समन्वय गरेर निजी क्षेत्रका मुद्दा समाधान गर्न सक्ने नेतृत्व अहिले महासंघलाई आवश्यक छ।
संघईले नयाँ सरकारले निजी क्षेत्रसँग सहकार्य गर्दै काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवर्द्धनका लागि ठोस नीतिगत सुधार अपरिहार्य रहेको बताएका छन्। सरकारले समयसीमा तोकेर काम अघि बढाउने घोषणा गरेपछि निजी क्षेत्र उत्साहित भएको उल्लेख गर्दै उनले सत्तारूढ दलका नेताको संसदमा गरिएको सम्बोधनले पनि निजी क्षेत्रलाई थप हौसला दिएको बताए।
‘यदि नयाँ सरकारले जनविश्वासमा अडेर देश र जनताको हितमा काम गर्न सके, आगामी पाँच वर्ष नेपालका लागि स्वर्ण युग सावित हुन सक्छ,’ संघईले भने। महासंघको ६०औँ वार्षिक साधारणसभा यही चैत २९ र ३० गते काठमाडौंमा आयोजना हुँदैछ। उक्त साधारणसभाबाट निर्वाचित कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्नेछ।



About Us
प्रतिक्रिया