काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका लागि दरखास्त आह्वान गरेको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले कम्पनीको संयोजक पदका लागि दरखास्त आह्वान गरेको हो ।
व्यवस्थापन तथा सञ्चालनका लागि दुई जना व्यक्ति सम्मिलित व्यवस्थापन समूहमा इच्छुक योग्य नेपाली नागरिकले वैशाख ९ गतेभित्र आवेदन दिनुपर्नेछ । दरखास्त पेश गर्दा आफूले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र (उमेर नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र समेत), अनुभवका कागजात एवम् छनौट समितिले तोकेका अन्य कागजात संलग्न गर्नु पर्नेछ ।
व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरी बैंकिङ क्षेत्रमा न्यूनतम १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ्ग विज्ञले आवेदन दिन पाउनेछन् ।
दरखास्त दिने अन्तिम मितीसम्ममा उम्मेदवारको उमेर ३५ वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनु पर्नेछ । संयोजकले १ लाख २६ हजार ३ सय मासिक पारिश्रमिक पाउनेछन् । दशैं खर्च वापत एक महिनाको पारिश्रमिक बराबरको रकम पाउने उल्लेख छ ।



About Us
प्रतिक्रिया