पूर्व प्रधानमन्त्री ओलीको रिहाइका लागि थप आन्दोलनका कार्यक्रम घोषणा


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता रमेश लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।

ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टी उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओली र कांगे्रस नेता लेखकको रिहाइको माग गर्दै थप आन्दोलनका घोषणा गर्ने निर्णय गरिएको बैठकपछि एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए।

उहाँका अनुसार यही चैत २५ गतेसम्म जिल्लास्तरमा बृहत् कार्यकर्ता भेला, चैत २८ गते सबै पालिकास्तरमा विरोध प्रदर्शन, आगामी वैशाख ३ गते सम्पूर्ण वडा तहमा वडाभेला र विरोध प्रदर्शनका कार्यक्रम राखिएका छन्।

यस्तै, वैशाख ७ गते प्रदेशस्तरीय विरोध प्रदर्शन र सभा, वैशाख १२ गते राजधानी काठमाडौँमा विरोध प्रदर्शन तथा सभा आयोजना गर्ने महासचिव पोखरेलले जानकारी दिए। बैठकले पार्टीले वर्तमान परिस्थितिका सम्बन्धमा नागरिक समाज तथा विभिन्न वर्ग र पेसासँग सम्बन्धित सङ्घ/सङ्गठनसँग जिल्ला तथा केन्द्रीयस्तरमा संवाद तथा अन्तक्र्रिया कार्यक्रम गर्नेसमेत निर्णय गरेको छ।

यस्तै, आगामी वैशाख ९ (अप्रिल २२) मा नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउन सबै पार्टी कमिटी तथा जनवर्गीय सङगठनलाई आह्वान गरिएको र चाँडै नै केन्द्रीय कमिटीको बैठक बस्ने विषयमा छलफल भएको महासचिव पोखरेलले बताए।