चितवन – आन्तरिक पर्यटन र ‘राइड टुरिजम’ प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘राइड टु क्याराभान डोल्पा’ सम्पन्न भएको छ। हिमालयन राइडर्स चितवनको आयोजनामा भएको यो साहसिक यात्राले ६ दिनमा नेपालका ४ प्रदेश र १६ जिल्लालाई जोडेको छ।

चैत ११ गते भरतपुर उद्योग वाणिज्य संघबाट सुरु भएको यो यात्रा चैत १६ गते चितवन फर्किएर समापन भएको हो। टोलीले कुल १२५२ किलोमिटरको दूरी पार गरेको छ। यात्राका क्रममा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका १६ जिल्लाहरू समेटिएका छन्। पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण तर विकट मानिएको डोल्पालाई मुख्य गन्तव्य बनाइएको थियो, जहाँ टोली चैत १३ गते पुगेको थियो।

सडकमा अनुशासित ढंगले गुडिरहेका राइडरहरू र उनीहरूको टल्कने ज्याकेटले सर्वसाधारणको ध्यान खिचेको थियो। प्रत्येक बाइकमा फरक फरक झण्डा फरफराउँदै राइडरहरु गन्तव्यतर्फ अगाडि बढिरहेको दृश्य आकर्षक देखिन्थ्यो। नेपालका सुन्दर पहाडी र हिमाली क्षेत्रलाई मोटरसाइकल यात्रामार्फत चिनाउनु नै आफूहरुको मुख्य लक्ष्य रहेको हिमालयन राइडर्सका संयोजक अमृत जोशी बताउँछन्। ‘लक्ष्य अनुसार राइड निकै सफल भएको छ,’ उनले भने।



About Us
प्रतिक्रिया