काठमाडौं – विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अनलाइन ठगी (स्क्यामिङ) केन्द्र र क्यासिनोमा फसेका १२ जना नेपालीको उद्धार गरिएको छ। बैंककस्थित नेपाली राजदूतावासको पहल, कम्बोडिया सरकारको सहयोग र गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा उनीहरूको उद्धार गरिएको हो।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीहरूलाई नेपाल फर्काउने पहल भइरहेको छ। कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगी लगायत गैरकानुनी काममा लगाइएको र बिना भिसा वा भिसा–अवधिभन्दा बढी समय बसिरहेको जानकारी बैंककस्थित नेपाली दूतावासले जनाएको छ।
उनीहरूलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली राजदूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिहरू शिवराज पराजुली, लालसिहं खडका, रामजी कुमार छेत्रीलाई यथाशीघ्र सम्पर्क गर्न बैंककस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७६ जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ।
बैंककस्थित नेपाली दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन आग्रह गरेको छ।



About Us
प्रतिक्रिया