पूर्व प्रधानमन्त्री ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश 


काठमाडौं – सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको इजलासले ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको हो। 

उनलाई पक्राउ गर्नुको कारण लिखित रूपमा पेस गर्न आदेश दिएको छ। गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै ओलीलाई तत्काल रिहाइ गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो। ओलीको पक्राउविरुद्ध उनकी पत्नी राधिका शाक्यले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। 

भदौ २३ र २४ गते जेनजी आन्दोलन क्रममा तत्कालीन प्रधानमन्त्रीको हैसियतले गरेको कामकारबाहीलाई लिएर उनीमाथि प्रश्न उठेको थियो। जेनजी आन्दोलनको घटना छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले ओलीलाई अनुसन्धान गर्न सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा ओलीसँगै तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि शनिबार बिहान पक्राउ गरिएको थियो।