काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अब निजी क्षेत्रले घुस खुवाउन, कामकाजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधीहरुसँगको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
‘अब निजी क्षेत्रले दुःख पाउने अवस्था अन्त्य हुन्छ, हामी तपाईंहरूको सहयात्री हौं’ उनले भने । उनले लगानी विस्तार र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै लगानी बढाएर रोजगारी सिर्जनामा केन्द्रीत हुनुपर्ने बताए ।
अर्थमन्त्री वाग्लेले आफू भ्रष्टाचार नियन्त्रणमा दृढ रहेको जनाउँदै भने, ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न ।’ अर्थतन्त्रलाई नयाँ गति दिन आफू प्रतिबद्ध रहेको बताउँदै उनले आर्थिक अपराधसम्बन्धी नीति परिवर्तन गर्दै अब सामान्य प्रकृतिका आर्थिक अनियमिततामा कैद सजायभन्दा आर्थिक जरिवानामा केन्द्रित हुने जानकारी दिए । उनले भने, ‘आर्थिक बेइमानीमा अब हामी आर्थिक जरिवानामा जान्छौँ, उद्योगी–व्यापारी थुनिनु पर्दैन ।’
तर, राज्यले सहजीकरण गर्दा निजी क्षेत्रबाट पनि इमानदारीको अपेक्षा गरिएको बताए । ‘राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्रले पनि बेइमानी नगर्ने अपेक्षा छ,’ उनले भने, ‘यदि नियोजित रूपमा बेइमानी गरिन्छ भने त्यसमा हामी निर्मम हुनेछौँ ।’



About Us
प्रतिक्रिया