कुमारी बैंकद्वाराः मास्टर कार्ड सेवाको औपचारिक शुभारम्भ, डिजिटल बैंकिङ्ग यात्रामा नयाँ माइलस्टोन


काठमाडौं – कुमारी बैंक लिमिटेडले आफ्नो मास्टर कार्ड सेवाको औपचारिक रूपमा सार्वजनिक गर्दै बैंकको डिजिटल सेवामा महत्त्वपूर्ण विस्तार गरेको घोषणा गरेको छ। काठमाडौंमा आयोजित एक विशेष पत्रकार सम्मेलनमार्फत बैंकले आफ्ना ग्राहकहरूका लागि बिहीबारबाट डेबिट मास्टर कार्ड जारी गर्न सुरु गरेको जानकारी गराएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले स्वागत मन्तव्य मार्फत बैंकको डिजिटल रूपान्तरण तथा ग्राहकमैत्री सेवाका क्षेत्रमा कुमारी बैंकले लिँदै आएको अग्रसरताबारे संक्षिप्त रूपमा जानकारी दिँदै मास्टर कार्ड जस्ता विश्वव्यापी भुक्तानी समाधानले बैंकको सेवा क्षमतामा थप वृद्धि गर्ने बताएका छन्।

यसैगरी कार्यक्रममा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ्ग अधिकृत अनीश ताम्रकारले मास्टर कार्डको महत्त्व, यसको प्रयोगका सम्भावनाहरू तथा ग्राहकलाई पुग्ने प्रत्यक्ष फाइदाबारे विस्तृत जानकारी दिँदै यस डेबिट मास्टर कार्डले भौतिक तथा डिजिटल दुवै माध्यमको उपयोग सरल र सुरक्षित हुने बताएका छन्।

साथै, पत्रकारहरूको अन्य जिज्ञासालाई सम्बोधन गर्दै बैंकले जारी गरेको डेबिट नेपाल, भारत र भुटानका सबै मास्टर कार्ड–स्वीकार गर्ने एटिएम र पीओस मा प्रयोग गर्न सकिने, मास्टर कार्ड को क्रेडिट कार्ड सेवा पनि चाँडै सुरु हुने मास्टर कार्ड मार्फत अनलाइन तथा अन्तर्राष्ट्रिय भुक्तानीसमेत सहज हुने लगायतका विषयहरू प्रस्ट पारेका थिए। उनका अनुसार, बैंकले गत वर्ष देखिनै आफ्ना एटिएमहरूमा मास्टर कार्ड स्वीकार गर्दै आएको र अब आफ्नै कार्ड जारी गरेसँगै ग्राहक सेवामा थप सहज हुने विश्वास बैंकले लिएको छ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा विद्युतीय कारोबार मार्फत बैंकिङ्ग सेवालाई बढी प्राथमिकता दिई आफ्ना देशभर रहेका २९७ शाखा सञ्जाल, ३१५ एटिएम, ४६ एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग इकाईहरू मार्फत आफ्ना ग्राहक वर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि विद्युतीय कारोबारलाई प्राथमिकता दिई अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ।