काठमाडौं – जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गर्दै आएको ‘अपरेसन ३६५’ अभियान अन्तर्गत थप १० वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। प्रहरीका अनुसार पछिल्लो समय मोटरसाइकलको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने, ध्वनि प्रदूषण गर्ने तथा शान्ति सुव्यवस्थामा असर पुर्याउने गतिविधि बढ्दै गएको भन्ने व्यापक जनगुनासो आएपछि विशेष अभियान तीव्र पारिएको हो।
यही क्रममा मिति २०८२ चैत ९ गतेदेखि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिकाका विभिन्न स्थानबाट चर्को आवाज निकाल्दै हिँड्ने मोटरसाइकलहरू नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनहरू विरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार ‘अपरेसन ३६५’ अभियान सुरु भएदेखि हालसम्म ४१४ वटा सवारी साधन र ३६ जना व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरिसकिएको छ। जिल्ला प्रहरी कार्यालयले सवारी साधन धनीलाई आफ्नो सवारी साधन मोडिफाई नगरी मूल स्वरूपमै सञ्चालन गर्न आग्रह गरेको छ।



About Us
प्रतिक्रिया