काठमाडौं – इरानमाथि इजरायल र अमेरिकाको आक्रमणपछि मध्यपूर्वमा चर्किएको द्वन्द्वले तरङ्गित बनेको विश्व बजारमा नयाँ संकेतहरू देखिन थालेका छन्। संकटका बेला सबैभन्दा सुरक्षित लगानी मानिने सुनको मूल्य घट्न थालेपछि अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वको तनाव टुंगिन लागेको हो कि भन्ने अनुमानसमेत गर्न थालिएको छ। युद्धका कारण इन्धनको मूल्य उकालो लागिरहेका बेला सामान्यतया सुरक्षित लगानी मानिने सुनको मूल्य भने अप्रत्याशित रूपमा ओरालो लागेको छ। गत फागुन १२ गतेदेखि मध्यपूर्वमा चर्किएको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा व्यापक प्रभाव पारेको छ। विशेषगरी ग्यास, पेट्रोल र डिजेलजस्ता इन्धनको मूल्य लगातार बढिरहेको छ।
युद्धका कारण तेल आपूर्ति र ढुवानीमा समस्या उत्पन्न हुँदा ऊर्जा क्षेत्रमा मूल्य वृद्धि भएको हो। यसले विश्व बजारमा महँगी थप चर्किने संकेत देखिएको छ। तर, अर्कोतर्फ, सुनको मूल्य भने लगातार घटिरहेको छ। अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विश्लेषणअनुसार यस पटक सुनले परम्परागत ‘सेफ हेभेन’ जस्तो व्यवहार देखाएको छैन। अमेरिकी डलरको मजबुती, ब्याजदर बढ्ने अपेक्षा र लगानीकर्ताको नगदतर्फ झुकावका कारण सुनको मूल्य दबाबमा परेको विश्लेषण गरिएको छ।
यद्यपि पाकिस्तानले इरान र अमेरिकाबीच सुलहका लागि मध्यस्थता गर्ने चर्चापछि विश्वबजारमा द्वन्द्व अन्त्यतर्फ जान खोजेको संकेत देखिएको छ। पाकिस्तानका सेना प्रमुख असिम मुनीरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गत आइतबार कुराकानी गरेको ह्वाइट हाउसले पुष्टि गरिसकेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वका दूत स्टिभ विटकोफ इस्लामावाद जाने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर यदि वार्ता अघि बढ्यो भने उपराष्ट्रपति जेडी भेन्स अमेरिकाका लागि सम्भावित मुख्य वार्ताकार हुनेछन्। यद्यपि इरानका संसद्का सभामुख मोहम्मद बाकर कलिबाफले एक इजरायली अधिकारी र यस विषयमा जानकार अन्य दुई स्रोतलाई उद्धृत गर्दै कुनै वार्ता नभएको बताएका छन्। यसले विश्व बजारमा पर्ख र हेरको स्थिति भने कायमै राखेको छ।
सामान्यतया युद्ध र संकटको समयमा सुरक्षित लगानीका रूपमा सुनको माग बढ्ने र मूल्य उकालो लाग्ने गर्छ। रुस–युक्रेन युद्धका बेला पनि यही प्रवृत्ति देखिएको थियो। तर, अहिलेको अवस्थामा भने सुनको मूल्य लगातार घटिरहेको छ। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँ बढेर तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन त्यसयता ६३ हजार ८ सय रुपैयाँले घटिसकेको छ।
किन घट्दैछ सुनको मूल्य ?
सुनको मूल्यमा मध्यपूर्वको तनावबाहेक अन्य कारण पनि सम्भावित प्रभाव पार्ने तत्त्वका रूपमा विश्लेषण गरिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषणअनुसार सुनको मूल्य पहिले नै उच्चस्तरमा पुगेको र लगानीकर्ताले नाफा बुक गर्दै बेच्दा सुनको मूल्य घटेको हो। विश्वव्यापी रूपमा ब्याजदर बढ्ने अपेक्षाले पनि सुनको आकर्षण कम गरेको छ। बजार तरलता र शेयर बजारमा आएको उतारचढावले पनि लगानी सुनबाट अन्य क्षेत्रमा सर्न थालेको देखिन्छ। चाँदी सुनभन्दा बढी अस्थिर भएकाले यसको मूल्य अझ तीव्र रूपमा घटेको विज्ञहरू बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको माग घट्नु नै मूल्य घट्नुको मुख्य कारण हो। उनकाअनुसार युद्ध चर्किएसँगै मानिसहरूले दैनिक आवश्यकताका आधारभूत वस्तु जस्तै पेट्रोल, ग्यास र अन्य उपभोग्य वस्तुलाई प्राथमिकता दिन थालेका छन्, जसका कारण सुनको माग घटेको छ। यसैबीच डलरको भाउ बढ्दै गएको छ, र डलर बलियो हुँदा सुनको मूल्य सामान्यतया घट्ने गर्छ। चीन र विश्वका केन्द्रीय बैंकहरूले पनि पछिल्लो समय सुन खरिद घटाएको कारण सुनको मूल्यमा थप दबाब परेको उनले बताए।
युद्धयता कति घट्यो सुन ?
मध्यपूर्वमा तीव्र रूपमा चर्किएको युद्धयता अर्थात् गत फागुन १३ गतेदेखि चैत ९ गतेसम्ममा सुनको मूल्य प्रतितोला ३९ हजार ३०० रुपैयाँले घटेको छ। फागुन १३ गते प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन २३ दिनको अवधिमा करिब ४० हजार रुपैयाँले घटेको हो। गत चैत ६ गते प्रतितोला सुन २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको थियो। त्यसपछि चैत ८ गते प्रतितोला २ लाख ८२ हजार रुपैयाँ र चैत ९ गते सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा झरेको छ। यसरी, मध्यपूर्वको युद्धले एकातिर इन्धनको मूल्य उकालो लगाइरहेको छ भने अर्कोतर्फ सुरक्षित लगानी मानिने सुनको मूल्यमा अप्रत्याशित गिरावट देखिएको छ।



About Us
प्रतिक्रिया