साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्था उल्लघंन गर्दा एशियन लाइफले तिर्यो २ लाख जरिवाना


काठमाडौं – नेपाल बीमा प्राधिकरणले एशियन लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको छ। प्राधिकरणले निर्देशन नमानेको भन्दै एशियन लाइफलाई २ लाख जरिवाना तिराएको हो। बीमा ऐन २०७९ को दफा ६७ मा बीमकले गर्न नहुने कामका बारेमा स्पष्ट नीति छ। तर, कम्पनीले भने बीमा ऐनको धज्जी उडाएको हो।

बीमा ऐनको दफा ६७ मा साझेदारीमा व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने व्यवस्था छ। बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गर्न वा सम्पत्ति जोड्न नहुने भन्ने स्पष्ट नीति भए पनि कम्पनीले अटेरी गरेको हो।

‘यो ऐन प्रारम्भ हुनु अघि बीमकले आफ्नो सञ्चालक, सञ्चालकको एकाघरको परिवार, आधारभूत शेयरधनी, वित्तीय स्वार्थ भएको व्यक्ति, बीमक वा त्यसको सञ्चालक मेनेजिङ एजेण्ट भएको वा हिस्सेदार भएको कुनै पनि फर्म, कम्पनी वा संस्था वा कार्यकारी प्रमुखसँग साझेदारीमा कुनै व्यवसाय गरेको वा कुनै सम्पत्ति जोडेको रहेछ भने यो ऐन प्रारम्भ भएको छ महिनाभित्र त्यस्तो व्यवसाय वा सम्पत्तिबाट आफ्नो व्यवसाय वा सम्पत्ति अलग गर्नु पर्नेछ’ ऐनमा स्पष्ट लेखिएको छ।