नाडाका प्रतिनीधि र बागमती प्रदेशका मुख्यमन्त्रीबिच भेटवार्ता, अटोमोवाइल क्षेत्रका विभिन्न विषयमा छलफल


काठमाडौं – नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का प्रतिनिधिले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रवहादुर बानियासँग भेटवार्ता गरेका छन्। आज अर्थात् चैत ९ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वको प्रतिनिधि मण्डलले भेटवार्ताका क्रममा अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत रूपमा छलफल गरेका हुन्।

सो भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन भएकोमा हार्दिक बधाई तथा शुभकामना दिए। सोही क्रममा मुख्यमन्त्री बानियाले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रशंसा गरे।

सो छलफलको क्रममा उनले देशको ५० प्रतिशत सवारी साधन बागमती प्रदेशमा नै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङ्ग लगायतका विभिन्न समस्याहरू रहेकोले यसको समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा राखे। यसैक्रममा मुख्यमन्त्री बानियाले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारी साधनहरुका लागि ट्रायल सेन्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाविच सहकार्य गरेर अघि बढ्न सकिने धारणा राखे।

सो छलफलको क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा ७ वटा प्रदेश सहित २८८३ सदस्य कम्पनीहरू रहेको बताउँदै नेपालको अटोमोवाइल क्षेत्रमा १ खर्व भन्दा बढीको लगानी रहेको बताए। सोही क्रममा अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल क्षेत्रमा वार्षिक ५ हजार जनशक्तिको आवश्यकता हुने जानकारी समेत दिए। यसैक्रममा अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन कुन क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिन्छ त्यस विषयमा मोडालिटी तयार गरी पेश गरिने बताए।

सोही अवसरमा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायनलाई रोक्न नेपालको अटोमोवाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको धारणा राखे। उक्त छलफलको क्रममा नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोवाइल प्रविधि तीव्र गतिले परिवर्तन भइरहेकोले त्यही स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दे जानु पर्ने चुनौती रहेको, नाडाले यसका लागि परिष्कृत पाठ्यक्रम समेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संसाधनको अभाव मात्र होइन उस्तै ट्रेनरहरु समेतको खाँचो रहेको औँल्याए।

उक्त छलफलमा नाडाका संस्थागत उपाध्यक्षद्धय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्धय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणी पाठक समेतको उपस्थिति रहेको थियो। त्यसैगरी सो छलफलमा नाडाका केन्द्रीय कार्य समिति सदस्य दीपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरी समेतको उपस्थिति रहेको थियो।