काठमाडौं – नेपाल प्रहरीको साइबर ब्युरोले पछिल्लो समय फेसबुक र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमार्फत किनमेल गर्ने प्रयोगकर्तालाई लक्षित गर्दै अनलाइन ठगीका घटना बढ्दै गएको बताएको छ। ब्युरोले एक सूचना जारी गर्दै विशेष गरी कपडा अर्डर गर्ने ग्राहकहरूलाई निशाना बनाउँदै ठगहरूले नयाँ तरिका अपनाउने गरेको बताएको छ।
ब्युरोका अनुसार ठगहरूले आफूलाई विक्रेता भनेर चिनाउँछन् र ग्राहकलाई ‘तपाईँको रकम जम्मा भएको छ, तुरुन्त ओटिपी कोड राख्नुहोस्’ भन्ने सन्देश पठाएर हतार सिर्जना गरेर ग्राहकबाट ओटिपी कोड लिने प्रयास गर्ने गर्छन्। यदि कसैले आफ्नो ओटिपी अरूलाई दिएमा, ठगहरूले सजिलै बैंक खाता वा डिजिटल वालेटमा पहुँच पाई रकम चोरी गर्न सक्ने ब्युरोले जनाएको छ। ब्युरोका अनुसार कुनैपनि बैंक वा आधिकारिक संस्थाले कहिल्यै ओटिपी वा पासवर्ड माग्दैन।
साथै, ब्युरोले आफ्नो ओटिपी पासवर्ड वा अन्य गोप्य जानकारी कसैलाई नदिन अनुरोध गरेको छ। ब्युरोले अनलाइन किनमेल गर्दा विक्रेताको विश्वसनीयता जाँच गर्ने र अपरिचित व्यक्तिलाई अग्रिम भुक्तानी नगर्न र शङ्कास्पद सन्देश वा खातालाई तुरुन्त रिपोर्ट गर्न आग्रह गरेको छ।



About Us
प्रतिक्रिया