सिटिजन्स बैंकको ४ करोड घोटाला प्रकरण:

‘पदको दुरुपयोग गर्दै फेक कारोबार देखाउने अपरेसन इन्चार्ज रोजी प्रहरीको फन्दामा’


काठमाडौं – सिटिजन्स बैंकको ४ करोड बढी रकम हिनामिना प्रकरणमा बैंकको अपरेसन इन्चार्ज रोजी कँडेलको प्रमुख भूमिका रहेको पाइएको छ। यस प्रकरणको पहिलो चरणको अनुसन्धानका क्रममा बैंकको शाखा सञ्चालनको सम्पूर्ण जिम्मेवारीमा नै रहेकी रोजीको प्रमुख भूमिका रहेको देखिएको हो। कँडेलले सोही अधिकार र आफ्नो पदको दुरुपयोग गर्दै गर्दै नगरेको कारोबारलाई देखाएको बैंकका सूचना अधिकारी नारायण राज अधिकारी बताउँछन्। उनकाअनुसार बैंकले शाखाको सम्पूर्ण अधिकार रोजीलाई दिइएको थियो। सोही अधिकारको दुरुपयोग गरेर उनले फेक ट्रान्जेक्सन देखाएकी थिइन्।

बैंकको लेखा परीक्षणका क्रममा नै हिसाब नमिलेपछि बैंकले पैसा फिर्ता गरेर बैंकभित्र नै यस प्रकरण मिलाउन खोजेको थियो। तर, बैंकले दिएको समय सकिँदासम्म उनले पैसा फिर्ता नगरेपछि बैंकले यस प्रकरणलाई प्रहरीसम्म पुर्‍याएको हो। बैंकका सूचना अधिकारी नारायण राजकाअनुसार बैंकले उनलाई जागिरबाट पनि बर्खास्त गरिसकेको छ। साथै, बैंकले यस प्रकरणमा अनुसन्धान र थप कारबाहीका लागी जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवालकाअनुसार बैंकको सो प्रकरणमा आवश्यक कागजात प्राप्त गरिसकेको छ। उनले हिजोदेखि नै प्रहरीले यस प्रकरणमा अनुसन्धान थालेको बताए। यस्तै, प्रहरीले आजदेखि नै बैंकको रकम हिनामिना प्रकरणमा सहभागी भएकाहरूलाई पक्राउ गर्ने तयारी समेत थालेको बुझिएको छ। प्रहरीले अबको कदममा पहिलो चरणमा पदको दुरुपयोग गर्दै फेक कारोबार देखाउने अपरेसन इन्चार्ज रोजीलाई पक्राउ गरेर थप अनुसन्धान गर्ने तयारी समेत गरिरहेको छ।