सांसद बनेपछि निफ्राबाट बाहिरिइन् लिमा, पुर्वाधार विकासका अवरोधहरूको समाधान गर्ने


काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालकबाट लिमा अधिकारी आचार्य बाहिरिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै उनी बैंकबाट बाहिरिएकी हुन् ।

रास्वपा केन्द्रीय सदस्य रहेकी लिमा खस आर्य क्लस्टरबाट सांसद बनेकी हुन्। उनी सञ्चालक समितिमा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन् । उनले निफ्रामा औपचारीक रुपमा सकिएको भन्दै देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने निफ्रासँग आबद्ध हुन पाउनु आफ्नो लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताएकी छिन् ।

निफ्राबाट बाहिरिएकी लिमाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘निफ्राले आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन सफल हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।’ उनले नेपालको पुर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्ने थुप्रै नितीगत तथा प्रशासनिक सुधारहरूका लागि आगामी दिनमा पहल गर्ने बताएकी छिन् ।