‘अधिक तरलताको बोझ बोकिरहेका बैंकहरूको लागत घट्ने भएकाले तत्काललाई राहत’

मुद्दतीबाट साधारण बचतमा सिफ्ट हुँदै निक्षेपकर्ता


काठमाडौं – बैंकहरूले दिने ब्याजदर लगातार घट्दै जाँदा मुद्दती निक्षेप (फिक्स्ड डिपोजिट) प्रति सर्वसाधारणको आकर्षण कम हुन थालेको देखिएको छ। चालु आर्थिक वर्षको माघसम्म बैंकहरूको कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा उल्लेख्य रूपमा घटेको तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंकहरूमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ४.६८४५ प्रतिशतमा झरेको छ। संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने ३.३८२५ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्षको माघमा भने व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.००१ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत रहेको थियो। अर्थात् एक वर्षको अवधिमा मुद्दती निक्षेपको ब्याजदर उल्लेख्य रूपमा घटेको देखिन्छ।

ब्याजदर घट्दै जाँदा बैंकहरूमा मुद्दती निक्षेपको हिस्सा पनि घट्न थालेको छ। चालु आर्थिक वर्षको माघसम्म वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरी समग्र बैंकिङ्ग प्रणालीमा मुद्दती निक्षेपको हिस्सा ४१.४१ प्रतिशतमा झरेको छ।गत वर्षको सोही अवधिमा भने कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ५२.०९ प्रतिशत थियो। यसैबीच, बचत खातामा भने निक्षेपको हिस्सा बढेको देखिन्छ। चालु आर्थिक वर्षको माघसम्म बचत निक्षेपको हिस्सा ४२.६५ प्रतिशत पुगेको छ। गत वर्षको माघमा यस्तो निक्षेप ३४.६० प्रतिशत मात्रै थियो।

त्यस्तै, चालु खातामा रहेको निक्षेपको हिस्सा ६.५९ प्रतिशत पुगेको छ भने कल डिपोजिट ८.६७ प्रतिशत रहेको छ। बैंकअनुसार हेर्दा चालु आवको माघसम्म वाणिज्य बैंकमा कुल निक्षेपमध्ये ४१.३७ प्रतिशत मुद्दती निक्षेप, ४२.१९ प्रतिशत बचत निक्षेप, ७.०७ प्रतिशत चालु निक्षेप र ८.६३ प्रतिशत कल डिपोजिट छ।

विकास बैंकमा मुद्दती निक्षेप ३७.६१ प्रतिशत, बचत निक्षेप ५०.९७ प्रतिशत, चालु निक्षेप २.४५ प्रतिशत र कल डिपोजिट ८.८१ प्रतिशत रहेको छ। फाइनान्स कम्पनीमा भने मुद्दती निक्षेपको हिस्सा ६०.७९ प्रतिशत, बचत निक्षेप २७.७९ प्रतिशत, चालु निक्षेप १.१३ प्रतिशत र कल डिपोजिट १०.२३ प्रतिशत रहेको छ। अर्थतन्त्रमा तरलता बढ्दै जाँदा र बैंकहरूले ब्याजदर घटाउँदै लगेपछि दीर्घकालीन मुद्दती खाताभन्दा सर्वसाधारण बचत खातामा रकम राख्नतर्फ आकर्षित हुन थालेका हुन्।