सभापति लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध आजदेखि नियमित सुनुवाइ हुने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता सम्बन्धमा परेको रिट निवेदनबारे सर्वोच्च अदालतले आज (आइतबार) देखि सुनुवाइ गर्ने भएकाे छ।

यसका लागि आज सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलास तोकिएको छ। यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइका लागि पेस गर्न आदेश दिएको थियो।

महान्यायाधिवक्ता सविना भण्डारी बरालले रविविरुद्ध पेश भएको आरोपपत्र संशोधन गर्ने र त्यसक्रममा संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सरकारी वकिलहरूलाई निर्देशन दिएकी थिइन्। त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा तीन छुट्टाछुट्टै रिट निवेदन दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता आभास रेग्मीसहित तीन जना र युवराज पौडेलले निवेदन दर्ता गरेका थिए।