काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धि मार्गदर्शन संशोधन गरेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा गर्दै चालू पुँजी कर्जासम्बन्धि मार्गदर्शन संशोधन गर्ने भनेको थियो । सोहिअनुसार नै राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धि मार्गदर्शन संशोधन गरेको हो ।
बैंक तथा वित्तीय संस्थाले ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ को लागि आवधिक प्रकृतिको कर्जा प्रदान गर्नुपर्ने बताएको छ । यस्तो आवधिक कर्जाको भुक्तानी अवधि आफ्नो चालू पुँजी कर्जा नीति बमोजिम निर्धारण गर्नुपर्ने उल्लेख छ । यसको लागी कुनै सीमा लागू नहुने केन्द्रीय बैंकले जनाएको छ । यसअघि प्रवाह भएको ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ को आवधिक प्रकृतिको कर्जा ऋणीको नगद प्रवाह तथा वित्तीय विवरण विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा २०८३ असार मसान्तसम्ममा एकपटकका लागि मात्र पुनरतालिकिकरण गर्न सकिने बताएको छ । यसरी गरिएको कर्जा पुनरतालिकिकरणलाई कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको प्रयोजनका लागि पुनरतालिकिकरण भएको नमानिने राष्ट्र बैंकको भनाइ छ ।
केन्द्रीय बैंकले चालू पुँजी कर्जाका विभिन्न खाताहरुमध्ये क्यास क्रेडिट कर्जा खातामा आर्थिक वर्षको कुनै एक समयमा कम्तीमा लगातार ७ दिन कर्जा सीमाको ३० प्रतिशतभन्दा कम वक्यौता कायम भएको हुनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले चालू पुँजी कर्जाको आवश्यकता विश्लेषण गर्दा रु.२ करोडसम्म (उत्पादनमूलक उद्योगको हकमा रु.४ करोडसम्म) चालू पुँजी कर्जा उपयोग गर्ने ऋणीको हकमा समेत ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ पहिचान भएमा ‘अस्थिर वर्किङ क्यापिटल निड’ को लागि १ वर्षभन्दा कम अवधिको कर्जा तथा ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ को लागि आवधिक प्रकृतिको चालू पुँजी कर्जा प्रदान गर्न सक्ने बताएको छ ।
चालू पुँजी प्रयोजनको आवधिक कर्जा व्यवसायको चालू पुँजीको आवश्यकता मूल्यांकन गर्दा स्थिर प्रकृतिको आवश्यकता ‘पर्मानेन्ट वर्किङ क्यापिटल निड’ लाई चालू पुँजी कर्जा नीति अनुसार आवधिक कर्जा प्रदान गर्नुपर्नेछ भने यस्तो कर्जालाई चालूपुँजी प्रयोजनको आवधिक कर्जा मानिने केन्द्रीय बैंकले जनाएको छ ।



About Us
प्रतिक्रिया