आगामी असारसम्ममा महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारले विस्थापित उद्यम कर्जाको पुनरसंरचना गर्न सकिने


काठमाडौं – नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्नसक्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन संशोधन गर्दै विस्तापित व्यवसायहरुमा प्रवाहित कर्जाको पुनरतालिकीकरण गर्न सकिने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकले ऋणीको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानीे विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने बताएको हो ।

यस्तो पुनरतालिकीकरण वा पुनरसंरचना २०८३ असार मसान्तभित्र गरिसक्नुपर्ने उल्लेख छ । राष्ट्र बैंकले पुनरतालिकीकरण वा पुनरसंरचना गर्दाको समयमा कर्जाहरुलाई जुन वर्गमा वर्गीकरण गरिएको छ कम्तीमा सोही वर्गमा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने बताएको छ ।