वित्तीय क्षेत्रका उच्च पद खाली: राष्ट्र बैंकदेखि पुनर्बीमा कम्पनीसम्म नयाँ सरकारले नियुक्ति गर्नुपर्ने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमत ल्याएसँगै नयाँ सरकार गठन गर्ने पक्कापक्की छ। वित्तीय क्षेत्रका विभिन्न महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्नुपर्ने अवस्था देखिएको छ। अहिले केन्द्रीय बैंक, बीमा क्षेत्र तथा पुनर्बीमा संस्थासम्मका धेरै उच्च पदहरू रिक्त छन्। सबैभन्दा ठुलो रिक्तता नेपाल राष्ट्र बैंकमा देखिएको छ। बैंकका दुई जना डेपुटी गभर्नर पद आइतबारदेखि खाली भएका छन्। डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र अवकाशमा गएपछि ती पद रिक्त भएका हुन्।

त्यस्तै नेपाल बीमा प्राधिकरणको अध्यक्ष पद पनि हाल खाली छ। अहिले उक्त पदको जिम्मेवारी नेपाल सरकारकी सचिव चन्द्रकला पौडेलले सम्हालिरहेकी छन्। बीमा प्राधिकरणमै लगानीकर्ताको प्रतिनिधित्व गर्ने महिला सञ्चालक पद पनि रिक्त छ। उक्त पदमा रहेकी राधा पोखरेलले पद छोडेपछि यो स्थान खाली भएको हो।

यसैगरी नेपाल पुनर्बीमा कम्पनी को अध्यक्ष पद पनि अहिले रिक्त छ। अध्यक्ष सुरेन्द्र पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएपछि उक्त पद खाली भएको हो। हाल अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल लाई कार्यवाहक जिम्मेवारी दिइएको छ। पुनर्बीमा कम्पनीमा दुई सञ्चालक पद पनि अहिले रिक्त रहेका छन्। वित्तीय प्रणालीसँग प्रत्यक्ष सम्बन्ध राख्ने यी संस्थामा महत्त्वपूर्ण पद खाली रहँदा नीति निर्माण, नियमन र व्यवस्थापनमा असर पर्न सक्ने भन्दै नयाँ सरकारले छिट्टै योग्य व्यक्तिहरू नियुक्त गरेर संस्थागत नेतृत्वलाई पूर्णता दिनुपर्ने आवश्यकता रहेको जानकारहरू बताउँछन्।