काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा भविष्यमा पछुताउन नपर्ने गरी हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू नबुझेसम्म प्रश्न सोध्ने गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै हस्ताक्षर गर्नुअघि कागजमा लेखिएका सर्तहरू बुझ्न आग्रह गरेको हो ।
जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्ष निश्चित सर्तमा बाँधिएका हुन्छन् । सर्तहरूको पूर्ण पालना गर्नु दुवै पक्षको कानूनी दायित्व भएको केन्द्रीय बैंकले उल्लेख गरेको छ । ग्राहकले वित्तीय सेवा लिनुअघि सर्तहरू पढ्ने र बुझ्ने गर्नुपर्ने, नबुझिएमा प्रश्न सोधी प्रष्ट हुने र हस्ताक्षर गरिएका कागजको एक प्रति आफूले सुरक्षित राख्ने गर्नुपर्ने उल्लेख छ ।
ग्राहकसँग प्रश्न सोध्ने र सर्तहरू बुझ्ने अधिकार हुन्छ भने ग्राहकलाई सर्तहरू बुझाउने जिम्मेवारी वित्तीय सेवाप्रदायकको हुने केन्द्रीय बैंकले जनाएको छ । केन्द्रीय बैंकद्वारा जारी सूचनामा भनिएको छ, ‘साथै, नियमानुसार वित्तीय सेवा प्रदायकलाई आवश्यक पर्ने कारोबारसम्बन्धी सूचना र विवरण उपलब्ध गराउनु ग्राहकको दायित्व हो भने ग्राहकले सोधेका प्रश्नको सही र सरल जवाफ दिनु, ग्राहकको कारोबारसम्बन्धी पूर्ण सूचना र कागजात उपलब्ध गराउनु वित्तीय सेवाप्रदायकको दायित्व हो ।’



About Us
प्रतिक्रिया