प्रथम महिला गभर्नर बन्ने सपना अधुरै राखेर राष्ट्र बैंकबाट बाहिरिइन् नीलम


काठमाडौं – नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिना ५ वर्षीय कार्यकाल पूरा गरेर राष्ट्र बैंकबाट बाहिरिएकी छिन् । राष्ट्र बैंकमा झण्डै तीन दशक बिताएकी नीलम हिजो अर्थात् आइतबारबाट अवकाश भएकी हुन् ।

नीलम नेपालको वित्तीय क्षेत्रमा छुट्टै पहिचान निर्माण गर्न सफल व्यक्ति हुन् । जो नेपाल राष्ट्र बैंकको इतिहासमा पहिलो महिला डेपुटी गभर्नर बनिन् । प्रथम महिला गभर्नर बन्न समेत अग्रसर भएकी नीलमकाे त्यस सपना भने साकार हुन सकेन । तर केन्द्रीय बैंकको डेपुटी गभर्नर पदमा पुगेर देशलाई सेवा गर्ने भने उनी पहिलो महिला हुन् । जसकारण, ढुंगाना धेरै महिलाको प्रेरणाको स्रोत समेत बनिन्।

राष्ट्र बैंक इतिहासमा नै पहिलो महिला डेपुटी गभर्नरका रुपमा ढुंगानाले नयाँ कीर्तिमान कायम गरेपनि देशले महिला गभर्नर भने अझै पाइसकेको छैन । जसकारण पनि नीलम पहिलो महिला गभर्नर बन्ने सोचमा थिइन् । उनी गभर्नरको दौडमा समेत सहभागी भइन् । देशले २०७२ सालमा नयाँ संविधान पाएपछि विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति बनेकी थिइन् । भण्डारी दुई कार्यकाल अर्थात् १० वर्ष देशको राष्ट्रपतिको भूमिकामा रहिन् । यस्तै, २०७२ सालमा नै ओनसरी घर्तिमगर नेपालको पहिलो महिला सभामुख र सुशीला कार्की २०७३ सालमा नेपालको पहिलो महिला प्रधानन्यायाधीस बनिसकेका छन् ।

यसअर्थ, राष्ट्रपतिसँगै महिलाले प्रधानन्यायधीस र सभामुखको पद समेत सम्हालिसकेका छन् । यसपछि, लीलादेवी गड्तौला २०८१ सालमा नेपालको पहिलो महिला मुख्यसचिव बनेर देशको सेवा गरिसकेकी छिन् । देशका विभिन्न कार्यकारी पद पद महिलाहरुले सफलतापूर्वक सम्हालिसकेका छन् । तर, केन्द्रीय बैंकमा महिलाले अहिलेसम्म यो अवसर पाएका छैनन् । यद्यपि, ढुंगाना तीन दशकभन्दा लामो संघर्ष, मेहनेत र लगनशीलताले ‘सेकेन्डपर्सन’सम्म बनिसकेकी छिन् ।

ढुंगाना आजभन्दा २८ वर्ष अघि अर्थात् झण्डै ३ दशक अघि २०५४ सालमा ढुंगाना सहायक अधिकृतका रुपमा केन्द्रीय बैंक छिरेकी थिइन् । त्यसयता निरन्तर रुपमा राष्ट्र बैंकका विभिन्न पद र ओहोदा हुँदै ‘सेकेन्ड पर्सन’ बनिसकेकी छिन् ।

झापामा जन्मेर दमकमै उच्च शिक्षा, एमबीएमा ‘गोल्ड मेडलिस्ट’

हरेक व्यक्तिका आफ्नै इच्छा, चाहाना हुन्छन् र त्यही चाहना पूरा गर्न निरन्तर लाग्छन् । तर, कतिपय व्यक्तिले भने के बन्ने भन्ने कुनै योजना तय नगर्दा पनि सफलता हाँसिल गर्ने गरेको पाइन्छ । यसैको उदाहरण हुन् ढुंगाना । उनको बाल्यकालदेखि के बन्ने भनेर कुनै खास लक्ष्य नै थिएन । राष्ट्र बैंकमा आएपछि पनि यो पदसम्म आइपुग्छु भन्ने उनले सोचेकी थिइनन् । धैर्यताका साथ लगातार मेहनत गर्दा हाल यो स्थानमा आइपुगेकी हुन् । सानोमा विज्ञान विषय अध्ययन गर्ने इच्छा जागेपनि नीलमले यो बन्छु भनेर लक्ष्य नै तय भने गरेकी थिइनन् । उनको पायक पर्ने ठाउँ दमकमा विज्ञान विषय पढाउने क्याम्पस नभएपछि रुची भएपनि सो विषय पढ्न पाइनन् ।

‘विज्ञान पढ्न नपाएपछि कमर्स पढ्नुपर्यो,’ उनले बैंकिङ्ग समाचारसँग बाल्यकाल स्मरण गर्दै भनिन्, ‘पढाइमा धेरै मिहिनेत गरेका कारण मलाई पास हुन समस्या पर्दैनथ्यो ।’ झापामा जन्मिएपनि उनको बाल्यकाल झापासहित पाँचथर, तेह्रथुम र जनकपुरमा बित्यो । विद्यालय निरीक्षक भएकाले बुबाको सरुवासँगै उनले बाल्यकालका अधिकांश समय यी जिल्लाहरुमा बित्याइन्। आमा पनि शिक्षिका भएकाले ढुंगाना शैक्षिक वातावरणमा हुर्किइन् । ‘मेरो आमा बुबा दुवै शिक्षित भएकाले घरमा शैक्षिक वातावरण थियो,’ उनले भनिन् ।

बुबाको सरुवा भइरहने कारणले गर्दा धेरै विद्यालयहरु परिवर्तन गरेकी ढुंगानाले एसएलसी र आइकम भने दमकबाटै गरिन् । विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट स्नातक गरेकी ढुंगानाले विराटनगरकै पोष्ट ग्य्राजुएट क्याम्पसबाट एमबीए गरिन् । एमबीएमा महिलाहरुमा नेपालभरिकै उत्कृष्ट नम्बर ल्याउँदै गोल्डमेडलिस्ट हुन् ।

जब परीक्षा केन्द्र पुगेपछि स्थगित भएको थाहा भयो‘

बैंकिङ्ग क्षेत्रमा आउनुभन्दा पहिले निजी विद्यालयमा अध्यापन गराएको अनुभव छ उनीसँग । ‘अध्ययन पूरा गर्ने बित्तिकै निजी विद्यालयका साथै आफैले एमबिए गरेको क्याम्पसमा पनि शिक्षिकाको रूपमा काम गरियो,’ उनले भनिन्, ‘श्रीमान् पनि प्रोफेसर नै हो । उहाँ अर्थशास्त्र पढाउनुहुन्थ्यो ।’ शिक्षिकाका रूपमा काम गर्दै गर्दा ढुंगानाको क्षमतालाई नजिकबाट चिनेकाहरूले राष्ट्र बैंक जान बारम्बार सुझाउँथे । श्रीमानसँगै श्रीमानका विद्यार्थीले राष्ट्र बैंक जान कर गरेपछि आवेदन खुलेको समयमा ढुंगानाले पनि फर्म भरिन् ।

‘मलाई यसबारे केही आइडिया नै थिएन । आवेदन खुलेको जानकारी पनि उहाँले नै दिनुभएको हो र फर्म पनि उहाँले नै ल्याइदिनु भएको हो,’ उनले संघर्षका दिन सम्झिइन् । आवेदन भरेपछि तोकिएको समयमा परीक्षा दिन २०५२ सालमा रात्रि बस चढेर झापादेखि काठमाडौं आइपुगिन् । तर, बालुवाटारको कार्यालय पुगेपछि रुखमा टाँसिएको सूचनाले झस्किएको उनी बताउँछिन् । ‘रुखमा त परीक्षा स्थगित भएको सूचना पो टाँसेको रहेछ । त्यत्रो दुःख गरेर झापादेखि काठमाडौं आइयो, सबै खेर गयो,’ उनी भन्छिन् ।

कर्मचारी व्यवस्थापन विभागले टाँसेको राजनीतिक परिवर्तनका कारण परीक्षा स्थगित भएको सूचना पढेपछि ललितपुरमा रहेको आफन्तको घर जान बालुवाटारबाट सार्वजनिक यातायात चढिन र पुगिन् रत्नपार्क । मोबाइल, पत्रपत्रिका र टेलिभिजनमा सहज पहुँच नहुँदा दुःख पाएको ढुंगाना बताउँछिन् । राष्ट्र बैंकको परीक्षा दिन आएकाले रत्नपार्कको फुटपाथमा राखिएको ‘नेपाल राष्ट्र बैंक प्रतियोगिता गाइड ’नामक किताबमा ढुंगानाको आँखा पर्यो र थप अध्ययन गर्ने भनेर किनेर लगिन् । ‘परीक्षा दिन भनेर पर्याप्त पढेर आएको थिए । तर, त्यो किताब किनेर पढेपछि मलाई केही नै नआउने रहेछ भन्ने लाग्यो,’ उनले सम्झिइन्, ‘वास्तविक तयारी त त्यो किताबमा पो रहेछ ।’

एक हिसाबले भन्नुपर्दा दुःख पाएपनि परीक्षा स्थगित हुँदा ढुंगानाले थप तयारीको मौका पाइन् । रत्नपार्कमा किनेको त्यो किताबले धेरै सहयोग गर्यो । र, २ वर्षपछि फेरि २०५४ सालमा पुनः फर्म खुल्यो । सो परीक्षामा सहभागी हुन काठमाडौं आइन्, परीक्षा दिइन र फेरी फर्किइन् झापा । ‘परीक्षा दिएपछि यसको नतिजाबारे ध्यान नै नदिई अध्यापन पेसामा नै आबद्ध भइरहँदा एक दिन आफन्तले लड्डु मागे,’ हर्षित मुद्रामा ढुंगानाले सम्झिइन्, ‘केको लड्ड मागेको नै थाहा भएन । उहाँले राष्ट्र बैंकबारे पत्रिकामा नाम निस्केको बताउनुभयो ।’

तर, नौरथा लागिसकेकाले दसैँको बिदा भइसकेकाले पत्रपत्रिका पसलहरू र कलेज पनि बन्द भइसकेको थियो । जसकारण, पत्रिकामा निस्केको नाम हेर्ने पखाइमा खल्लो रूपमा नै दसैँ जसोतसो कट्यो । ‘दसैँ लगत्तै तिहारअघि प्रशासनलाई अनुरोध गरेर लाइब्रेरी खोलेर हेर्दा भाइटिकाको दोस्रो दिनपछि अन्तरवार्ता रहेको जानकारी भयो,’ उनले भनिन् । सहायक अधिकृतका रूपमा राष्ट्र बैंक छिर्दा उनको सुरुवाती तलब मासिक ५ हजार ५ सय रुपैयाँ थियो । सहायक अधिकृतबाट राष्ट्र बैंकमा छिरेकी उनको निरन्तरको मिहिनेत र धैर्यतासँगै कार्यालयको कामलाई सधैँ प्राथमिकतामा राख्दै आइरहेकी छिन् ।

उनको धैर्यता र मेहनतले नै आज यो सफलता हात पारिदिएको छ । मिहेनती स्वभावकी ढुंगाना आजपनि उत्तिकै खट्छिन् । कामसँग अध्ययनलाई निरन्तरता दिँदै गएकी छिन् । ढुंगानाले राष्ट्र बैंकमा काम गरेको पाँच वर्षपछि अस्ट्रेलियाको युनिभर्सिटी अफ वोलोङगोङबाट अर्थशास्त्रमा मास्टर्स गर्ने अवसर पाइन् । उनले भारतबाट बैंकिङ्ग र मौद्रिक प्रसारण विषयमा विद्यावारिधि समेत गरेकी छिन् । नेपाल राष्ट्र बैंकमा प्रत्येक पदमा प्रतिस्पर्धाबाट परीक्षा दिएर प्रत्येक परीक्षा एकै पटकमा पास गर्दै बढुवा भइन् । यति बेला उनी प्रथम महिला डेपुटी गभर्नरको भूमिकामा छिन् । कर्मचारीको रूपमा उनीसँग केन्द्रीय बैंकको धेरै विभागहरू सम्हालेको अनुभव छ ।

विदेशी विनिमय व्यवस्थापन विभागदेखि, विराटनगर कार्यालय, पोखरा कार्यालयका क्षेत्रीय व्यवस्थापक, मौद्रिक व्यवस्थापन विभाग, आर्थिक अनुसन्धान विभाग, आन्तरिक लेखा परीक्षक विभागलगायतका मुख्य विभागहरू सम्हालेको अनुभव उनीसँग छ। ढुंगाना नेतृत्व सम्हालिरहँदा गौरवका साथै जिम्मेवारी बोध हुने बताउँछिन् । नेतृत्वदायी भूमिकामा रहेकी ढुंगाना भन्छिन्, ‘नेतृत्व सम्हालिरहँदा सरकारले विश्वास गरेर जिम्मेवारी दिँदा हर्षित त यसै हुने भइहाल्यो । यसका साथ–साथै जिम्मेवारी पनि बोध भइरहेको हुन्छ ।’

१९ वर्षकै उमेरमा बिहे गरेकी ढुंगाना डेपुटी गभर्नरसम्मको यो यात्राको श्रेय श्रीमानलाई जाने बताउँछिन् । श्रीमानको सहयोगलाई सम्झिँदै उनले भनिन्, ‘आइकमदेखि नै मलाई श्रीमानले केही गर्नुपर्छ, समाजमा स्थापित हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भनेर प्रोत्साहन दिनुभयो ।’ उनका श्रीमानले पढाइको महत्त्व बुझेका कारण पनि आफूले पढ्न पाएको र गोल्ड मेडलिस्ट बन्न सकेको बताइन् ।

(केही समयअघी बैंकिङ्ग समाचारले गरेको कुराकानीमा आधारित)