काठमाडौं – कुनै समय नेपालको प्रशासनिक संयन्त्र पुरुषको वर्चस्वमा सीमित जस्तै थियो। जिल्ला स्तरको प्रशासनिक नेतृत्वमा महिला देखिनु दुर्लभ मानिन्थ्यो। तर समयसँगै त्यो तस्बिर बदलिँदै गएको छ। आज विभिन्न जिल्लाको प्रशासनिक नेतृत्व महिलाले सम्हालिरहेका छन्। यही बदलिँदो परिदृश्यको एक उदाहरण हुन् सङ्खुवासभाकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) सिर्जना थपलिया।
सामान्य गाउँले परिवेशबाट सुरु भएको उनको जीवनयात्रा आज प्रशासनिक नेतृत्वसम्म आइपुगेको छ। अफिसर बन्ने हुटहुटी, निरन्तर प्रयास र परिवारको साथले उनलाई संखुवासभाको सीडीओको जिम्मेवारीसम्म पुर्याएकाे छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका–६, स्यादुल गाउँमा जन्मिएकी थपलियाको बाल्यकाल सामान्य परिवेशमै बित्यो।
गाउँकै विद्यालयबाट कक्षा ८ सम्म अध्ययन गरेपछि उनले मलेखुबाट एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि उनी भरतपुरस्थित सप्तगण्डकी क्याम्पसमा कक्षा ११ मा भर्ना भइन्। तर अध्ययनको क्रममा उनको रुचि स्वास्थ्य क्षेत्रमा मोडियो। उनले वीरगञ्ज नर्सिङ क्याम्पसबाट पिसियल नर्सिङ उत्तीर्ण गरिन्। पढाइ सकिएपछि उनले दुई वर्ष अस्पतालमा काम पनि गरिन्। त्यसपछि महाराजगञ्जस्थित नर्सिङ क्याम्पसबाट ब्याचलर अफ नर्सिङ पूरा गरिन्। स्वास्थ्य क्षेत्रमै करिअर बनाउने सोचले उनी चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) मा अध्यापन गर्न थालिन्। त्यतिबेला उनको जीवनको दिशा स्वास्थ्य क्षेत्रमै अगाडि बढ्ने देखिन्थ्यो।

संयोगले मोडिएको करिअर
२०७० सालमा उनले निजामती सेवाको परीक्षा दिइन्। त्यो पनि विशेष तयारी बिना। परिवारलाई समेत जानकारी नदिई उनले परीक्षा दिएकी थिइन्। तर पहिलो प्रयासमै नाम निस्किएपछि उनको जीवनको दिशा नै फेरियो। त्यतिबेला उनको सोच स्नातक सकेपछि अफिसर तहको जागिर गर्ने थियो। स्वास्थ्य सेवातर्फ अफिसर तहमा काम गर्ने उद्देश्यले उनले फारम भरेकी थिइन्। तर त्यतिबेला सम्बन्धित विज्ञापन स्थगित भयो। त्यही बीचमा साथीहरूले निजामती सेवामा प्रयास गर्न सुझाव दिए। साथीहरू एकपछि अर्को गर्दै नाम निकाल्दै गएको देख्दा उनले पनि प्रयास गरिन्।
उनीका लागि निजामती सेवा केवल रोजगारीको माध्यम मात्र थिएन। समाजमा पाउने सम्मान र स्थायित्वले पनि उनलाई आकर्षित गरेको थियो । विवाहपछि छिमेककै एक व्यक्तिले अफिसर तहमा नाम निकालेपछि समाजले दिएको सम्मान देखेर उनलाई पनि त्यही मार्गमा अघि बढ्ने प्रेरणा मिल्यो । त्यतिबेला उनी अध्यापन पेशामा थिइन् र उनको तलब अफिसर तहको भन्दा कम थिएन, कतिपय अवस्थामा बढी नै थियो । तर पदको प्रतिष्ठा र राज्य सेवामा काम गर्ने अवसरले उनलाई तानेको थियो।
मध्यमवर्गीय परिवारको संघर्ष
गाउँको मध्यमवर्गीय परिवारमा जन्मिएकी थपलियाको पारिवारिक अवस्था सहरी परिवेशको तुलनामा कमजोर नै थियो। सानो हुँदा धेरै सपना देखे पनि सबै पूरा गर्ने अवस्था थिएन। ‘सानो हुँदा यही बन्छु भन्ने स्पष्ट लक्ष्य थिएन,’ उनी सम्झिन्छिन्, ‘तर जागिर भने गर्नुपर्छ भन्ने सोच चाहिँ सानैदेखि थियो।’
विवाहपछि थप जिम्मेवारी
२०६८ सालमा उनको विवाह भयो। विवाहपछि परिवार र करिअरलाई सँगसँगै अघि बढाउनु उनका लागि चुनौतीपूर्ण थियो। उनका अनुसार महिलाका लागि सबैभन्दा ठुलो चुनौती कार्यस्थलभन्दा पनि घर–परिवारको व्यवस्थापन हो। ‘महिलाका लागि करिअरभन्दा पहिले घरपरिवार मिलाएर अघि बढ्नुपर्छ,’ उनी भन्छिन्। तर सासू–ससुरा र आमाबुबाको सहयोगले उनको यात्रा सहज बन्यो। परिवारको साथ नै आफूलाई अघि बढ्ने मुख्य आधार बनेको उनी बताउँछिन्।
प्रशासनिक नेतृत्वमा महिला
आज थपलिया जिल्लाको प्रशासनिक नेतृत्वमा छिन्। एक समय नर्सिङ पढेर स्वास्थ्य क्षेत्रमा करिअर बनाउने सोच राखेकी उनी अहिले राज्यको प्रशासनिक संयन्त्रको नेतृत्व सम्हालिरहेकी छिन्। उनको यात्रा केवल व्यक्तिगत सफलता मात्र होइन, बदलिँदो नेपाली प्रशासनिक संरचनाको उदाहरण पनि हो।
उनलाई आफुनो बा–आमाको इज्जत राख्नुपर्छ पढ्नुपर्छ र केही नकेही हुनुपर्छ भन्ने भावनाले गर्दा आज सीडीओ भई जिल्ला हाकिरहेकी छिन्। तर उनको यहि बन्छु भनेर ठुलो सपना नबुनेको उनी बताउँछिन्। जीवनमा आएका विभिन्न उतारचढावका बीच एक युवतीले अन्ततः निजामती सेवामा आफ्नो भविष्य खोज्ने निर्णय गरिन्। अध्ययनकै क्रममा उनका सहपाठीहरूले निजामती सेवाको परीक्षा उत्तीर्ण गर्दै नाम निकाल्न सफल भएका थिए । उनीहरूको सफलताले उनलाई पनि यस क्षेत्रतर्फ आकर्षित गराएको थियो।
सहपाठीहरूबाट निजामती सेवामा स्थिर करिअर र उज्ज्वल भविष्य सुनिश्चित हुने कुरा उनले बारम्बार सुन्दै आएकी थिइन्। यही विश्वासले उनको सोचलाई थप मजबुत बनायो। यसैबीच, उनले तयारी गरिरहेकी स्वास्थ्य सेवा सम्बन्धी परीक्षा स्थगित भएपछि उनको ध्यान पूर्ण रूपमा निजामती सेवातर्फ केन्द्रित भयो। साथीहरूको सुझाव तथा आफ्नै भविष्यप्रतिको चिन्तनपछि उनले निजामती सेवामा प्रवेश गरिन्। यस क्षेत्रमा प्रवेश गर्दा उनलाई परिवार व्यवस्थापन गर्न र करिअर सँगसँगै लाग्नका विषयले चुनौती बनेको थियो। महिलाको बिहे पछिको जिवनमा परिवार व्यवस्थापन बच्चा हेरचाहका साथै, आफ्नो करिअर पनि सँगै लाग्नु पर्ने भएकाले गर्दा उनलाई त्यस समयमा अलि गाह्रो भएको थियो।
‘सानो हुँदा यही बन्छु भन्ने स्पष्ट लक्ष्य थिएन,’ उनी सम्झिन्छिन्, ‘तर जागिर भने गर्नुपर्छ भन्ने सोच चाहिँ सानैदेखि थियो।’
निजामती सेवाभित्र चाँही उनले त्यस्तो कुनै पनि चुनौतीको सामना गर्नु नपरेको उनी बताउँछन्। उनका अनुसार महिलाका लागि चुनौती भनेको परिवार व्यवस्थापन र करिअर सँगै अघि लाग्ने भने हुन्छ। उनका परिवार सासु ससुरा आमा बुबा उनका लागि धेरै साथ दिने भएकाले गर्दा परिवार व्यवस्थापन गर्न सहज भयो। उनी मध्यम वर्गिय परिवारबाट आएको भएता पनि करिअरका लागि परिवारबाट महत्वपूर्ण योगदान पाएकी थिइन्। उनको निजामती सेवा प्रवेश देखि सीडीओसम्मको यात्रा परिवारका साथका कारण सफल भएको बताउँछन्। उनको निजामती सेवामा प्रवेश गर्दाको तलब १८ हजार ९ सय रुपैयाँ थियो। उनी वाणिज्य विभागमा हुदाँ एउटा रणनीतिक सुधार गरेकी थिइन्, त्यो सुधारले सेवाग्राहीलाई धेरै सहज भएको थियो। उनको त्यो सानो पहलले गर्दा बनेका काम अझै उनी सम्झन्छन्।
पछिल्लो समयमा निजामती सेवामा महिलाको उपस्थिति संख्यात्मक रुपमा समेत बढेको छ। महिलाले महिला भएकै आधारमा अवसर खोज्नु हुँदैन। कुनैपनि पद महिला भएर जिम्मेवारी दिइएको हुँदैन। आफु कुनै पदका लागि योग्य भएपछि जिम्मेवारी दिइने उनी बताउँछन्। जुनसुकै क्षेत्रमा पनि तिमी यो पदका लागि योग्य छौँ भनेर नै पदको जिम्मेवारी दिइन्छ। लोकसेवा आयोगले सिफारिस गरी सकेपछि पाइएको पदमा आफुले ‘महिला हुँ’ भनेर धेरै अधिकार लिन खाज्न नहुने उनको भनाइ छ।उनका अनुसार निजामती सेवामा जिम्मेवारी दिन कन्जुस्याइँ नगरेमा महिलाको संख्या बढाउन सकिन्छ।
जब महिला लोक सेवामा पास भई आएका महिला क्षमतावान नै हुन्छन्। त्यसैले जिम्मेवारी दिन हिचकिचाउनु हुँदैन। कसैलाई पनि महिलाको संज्ञा दिएर विभागिय प्रमुख हुन सक्दैन, कुनै मन्त्रालय चलाउन सक्दैन भनेर जिम्मेवारी नदिनु गलत हुने उनको भनाई छ। नेतृत्वले विश्वास गरी जिम्मेवारीले दिदाँ क्षमता वृद्धि हुन्छ। एउटा नेतृत्व दायी भुमिकाले गर्दा आफ्नो जति सक्दो जिम्मेवारी पुरा गरि रहेकाले पनि आफ्नो काम प्रति सन्तुष्ट नै छिन् उनी।

महिला र पुरुष दुवैलाई प्रशासनिक पदमा नियुक्त गर्दा केही फरकपन देखिन सक्छ, तर यसलाई चुनौती वा कमजोरीको रूपमा लिनु उपयुक्त हुँदैन। महिला पदाधिकारी भएमा पारिवारिक जिम्मेवारी र सामाजिक अपेक्षासँग तालमेल गर्नु पर्ने चुनौतीहरू हुन सक्छन्। तथापि, पेसागत क्षमता र निर्णय प्रक्रियामा महिला वा पुरुष हुनु कुनै पनि चुनौतीलाई बढी वा कम बनाउँदैन। प्रमुख जिल्ला अधिकारी कानुनले दिएको पद हो। जसमा पुरुष भएपनि महिला भए पनि एउटै किसिमले काम गर्ने हो।उनको यात्रा धेरै युवतीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।
कुनै व्यक्तिले परिवार सम्हाल्न सकेन भने प्रोफेसनल जीवनलाई पनि अघि बढाउन सकिँदैन। परिवार नै प्रोफेसनल जीवनको तनावको रूपमा देखा पर्न सक्ने उनी बताउँछन्। आफूले परिवारको जिम्मेवारी टाढा भएर नै पनि गरिरहेको र परिवारले पनि उत्तिकै साथै दिएकाले गर्दा व्यक्तिगत र प्रोफेसनल जीवनको सम्हाल्न सहज भइरहेको उनी बताउँछन्। प्रमुख जिल्ला अधिकारी कानुनले दिएको जिम्मेवारी हो, जसमा महिला वा पुरुष भन्ने भेद हुँदैन। नेतृत्वले विश्वास गरेर जिम्मेवारी दिएमा क्षमता अझ प्रस्ट रूपमा उजागर हुने थपलिया मान्छिन्। घरभित्र पदको अहम् देखाउनु हुँदैन। घरको काम महिलाको मात्रै दायित्व हो भन्ने सोचाइले परिवार र करिअर दुवैमा असर पार्न सक्छ। परिवार र पेसागत जीवनबीच सन्तुलन कायम गर्न सके मात्र दीर्घकालीन सफलता सम्भव हुन्छ।
निजामती सेवामा महिलाको संख्या बढ्दै जाँदा अन्य जिल्लामा पनि प्रमुख जिल्ला अधिकारीको पदमा महिला आउन सक्छन्। महिलालाई काम गर्न विश्वास गरी जिम्मेवारी दिएमा अन्य जिल्लामा समेत महिला सीडीओ भएर जिल्ला हाक्न सक्छन्। साथै, महिलाले पनि कुनै जिम्मेवारी बहन गर्न तयार रहनुपर्छ। थपलिया संखुवासभाको प्रशासनिक नेतृत्वमा रहेर जिल्लावासीको सेवा गरिरहेकी छिन्। उनको यात्रा धेरै युवतीहरूका लागि प्रेरणाको स्रोत बनेको छ।



About Us
प्रतिक्रिया