‘स्मार्ट मनी टक्स’ भन्ने नाराका साथ चैत २ गतेदेखि ग्लोबल मनी विक मनाउने


काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी मार्च १६ देखि २२ (२०८२ चैत २ देखि ८) सम्म स्मार्ट मनी टक्स भन्ने नाराका साथ ग्लोबल मनी विक मनाउन लागिएको जानकारी दिएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै ग्लोबल मनी विकको चौधौं शृङ्खला मनाउन लागिएको जानकारी गराएको हो ।

बालबालिका र युवाहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्यका साथ अर्गनाइजेशन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट (ओइसीडी) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ७ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ ।

नेपालमा यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ग्लोबल मनी विक मनाइँदैछ । यो कार्यक्रममा वित्तीय प्रणालीमा आबद्ध संस्थाहरूको सक्रिय सहभागिता रहने केन्द्रीय बैंकले बताएको छ । यसको अतिरिक्त अन्य संघसंस्था र सरोकारवाला निकायहरू पनि यस अभियानमा आबद्ध हुनसक्ने भएकोले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण संघसंस्था र निकायहरूलाई यस अभियानमा सहभागी भई ग्लोबल मनी विक भव्य रूपमा मनाउनका आह्वान गरेको छ ।