४८ सालदेखि ०५१ साल आर्थिक विकासको स्वर्णिम यूग, अब ‘सेकेन्ड जेनेरेन रिफर्म’ गर्ने काँग्रेसको दाबी


काठमाडौं- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २०४८ सालदेखि २०५१ सालम्मको अवधिलाई नेपालको अर्थतन्त्रको लागि स्वर्णिम यूगकारुपमा परिभाषित गरेका छन्। आज राष्ट्रिय सभामा आयोजित कार्यक्रममा बोल्दै थापाले ४ वर्षको समय नेपालको आर्थिक विकास र उदारिकरणका लागि स्वर्णिमयूगकारुपमा परिभाषित गरेका हुन्।

उनले सो अवधिमा नेपाली काँग्रेस नेतृत्वको सरकार भएकाले आर्थिक विकासमा स्वर्णिम यूग बनेको उल्लेख गरेका छन्। उक्त समयमा नेपाली काँग्रेस नेतृत्वको सरकारले आर्थिक विकासका लागि दह्रो पाइला चालेको थापाले बताए। उनका अनुसार उक्त समयमा काँग्रेसले लिएका आर्थिक नीतिका कारण कम्यूष्टिहरुले लामो समय खेदेको थापाले बताए।

त्यसयता नेपालले आर्थिक विकासमा हासिल गरेका सम्पूर्ण गतिविधि ४८ देखि ५१ सालबीचमा भएका नीतिगत व्यवस्थाका कारण भएको दाबी थापाको छ। ‘अहिले हामि देश लोडसेडिङ मुक्त भयो भन्छौं। यसको कथा खोज्दा २०४९ सालमा नेपालमा नीजि क्षेत्रलाई ऊर्जा क्षेत्रमा लगानी नखोलेको भए लोडसेडिङ मुक्त हुँदैनथ्यो,’ उनले भने।

यस्तै, आज प्रतिवर्ष डेढ खर्बको निर्यातको ‘ब्याकबोन’ समेत ४८ सालदेखि ५१ सालको अवधि भएको थापाले बताए । तर, त्यसपछि काँग्रेस समेत अलमलिएकाले आर्थिक विकासका गति रोकिएपनि आगामी दिनमा दोस्रो चरणको आर्थिक ‘रिफर्मेशन’ गर्ने प्रतिज्ञा थापाले गरे। ‘अब ‘सेकेन्ड जेनेरेशन रिफर्म’बाट नेपालीको प्रतिव्यक्ती आय २५ सय अमेरिकी डलर पुर्याउने र कूल गार्हस्थ उत्पादनलाई थप बढाउन काँग्रेसले काम गर्छ,’ उनले भने, ‘अबको ५ वर्षमा विगतको दुई दशकमा नभएको विकासलाई पनि ‘कभर’ गर्छौं।’

यस्तै, उनले नेपाली काँग्रेस नीजि क्षेत्र मैत्री दल भएको बताए। ‘यदी कसैले काँग्रेसलाई निजी क्षेत्रमैत्री राजनीतिक दल भन्छ भने हामि स्वीकार्छौं। किनकी, निजी क्षेत्र विनाको अर्थतन्त्र परिकल्पना गर्न सक्दैनौं,’ उनले भने। आगामी ५ वर्षमा नेपाली काँग्रेसले ‘पहिला थुन्ने र सुन्ने नीति परिवर्तन गर्नेगरी काम गर्ने प्रतिज्ञा समेत थापाले गरे।