५ वर्षमा १०० खर्ब र १० वर्षमा २०० खर्ब रुपैयाँको अर्थतन्त्र बनाउने एमालेको घोषणा


काठमाडौं – नेकपा एमालेले अर्थतन्त्रको आकार पाँच वर्षमा १ सय खर्ब रूपैयाँ र दश वर्षमा २ सय खर्ब रूपैयाँको पुर्याउने घोषणा गरेको छ। आगामी निर्वाचनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले कृषिको उत्पादकत्व, विद्युत् उत्पादन क्षमता, खनिज तथा औद्योगिक उत्पादन, सूचना प्रविधि र भौतिक पूर्वाधार निर्माणमा फड्को मार्दै ७ प्रतिशतदेखि ९ प्रतिशतसम्मआर्थिक वृद्धि गर्ने घोषणा गरेको हो।

यस्तै, प्रतिव्यक्ति आय पाँच वर्षमा करिब अमेरिकी डलर ३ हजार पुर्याउने लक्ष्यका राखेको छ। राष्ट्रिय स्रोत, साधन र सामथ्र्य परिचालन गर्दै चरम गरिबीको अन्त्य गर्ने एमालेले प्रतिवद्धता व्यक्त गरेको हो। वित्तीय क्षेत्रको पूँजी उत्पादक क्षेत्रमा विनियोजन गर्ने र पूँजी बजारको विकास तथा सुदृढीकरण गर्दै थप आन्तरिक तथा बाह्य पूँजी परिचालन गरी उच्च आर्थिक वृद्धिका लागि लगानी परिचालन गर्ने एमालेको घोषणामा उल्लेख छ।

आगामी पाँच वर्षसम्म पुँजी निर्माण र अनिवार्य दायित्वका खर्च बाहेकका अन्य खर्चहरू कटौती गरी रोजगारी सिर्जना हुने उत्पादनशील क्षेत्रमा लगानी बढाउने योजना एमालेले अघि सारेको हो।