जेनजी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद


झापा- जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक थान पेस्तोल र ४० राउन्ड गोलीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई नगरपालिका–८ का २२ वर्षीय सुजय राजवंशी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

स्थानीय तुलबहादुर थापा मगरको घरमा अवैध हातहतियार र लागूऔषध लुकाई–छिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले आइतबार छापा मारेको थियो। सो अवसरमा प्रहरीले उनका २२ वर्षीय छोरा सौगात थापा मगरले घरपछाडि रहेको कुखुराको खोरमा प्लास्टिकको ड्रमभित्र लुकाई–छिपाई राखेको ९८९ एमएमको पेस्तोल एक थान र गोली ४० राउन्ड बरामद गरेको हो।

घटनामा संलग्न सौगात भने फारर रहेको प्रवक्ता खड्काले जानकारी दिए। लुटपाटमा संलग्न राजवंशीलाई मुलुकी अपराधसंहिता २०७४ बमोजिम कारबाही हुने उनको भनाइ छ।