एसियाली विकास बैंकको दक्षिण एसिया महानिर्देशकमा नेपालकी सोना श्रेष्ठ


काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपालकी सोना श्रेष्ठलाई दक्षिण एसिया विभाग महानिर्देशक नियुक्त गरेको छ। श्रेष्ठलाई बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीको रणनीति तथा सञ्चालन विकास र कार्यान्वयन नेतृत्व गर्ने गरी नियुक्त गरेकाे हो।

‘दक्षिण एसिया विभागको महानिर्देशक नियुक्त हुन पाउँदा सम्मानित महसुस गरेकी छु,’ श्रेष्ठले भनिन्, ‘समावेशी र दिगो विकासमा सहयोग पुर्‍याउन एडीबीको संलग्नता अझ गहिरो बनाउन यस क्षेत्रका विकासशील सदस्य राष्ट्रहरूसँग मिलेर काम गर्न उत्सुक छु ।’

श्रेष्ठ यसअघि दक्षिण एसिया विभागकै उपमहानिर्देशक थिइन्। उनले उपमहानिर्देशक पद ३ अप्रिल २०२५ देखि सम्हालेकी थिइन्। उनले यसअघि एडीबीको स्वतन्त्र मूल्यांकन विभाग उपमहानिर्देशक तथा एडीबी सहायक सचिव लगायत वरिष्ठ पदमा काम गरिसकेकी छिन्।

उनले दक्षिण–पूर्व एसियाली क्षेत्रीय विभागमा सार्वजनिक व्यवस्थापन, वित्तीय क्षेत्र र व्यापार सम्बन्धी निर्देशक, इन्डोनेसियाका लागि उपदेशीय निर्देशक तथा फिलिपिन्सका लागि प्रिन्सिपल कन्ट्री इकोनोमिस्टका रूपमा पनि काम गरिसकेकी छिन्।