बैंकको ब्याजदर फेरि घट्यो, कुन बैंकमा कति पाइन्छ ब्याज ?


काठमाडौं – वाणिज्य बैंकहरूले फागुन महिनाका लागी नयाँ ब्याजर सार्वजनिक गरेका छन् । बैंकहरुले फागुन १ गतेदेखि लागू हुने गरी ब्याजदर सार्वजनिक गर्दै अधिकांश बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।

फागुन महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.११ प्रतिशत घटेर औसत ४.५७ प्रतिशतमा कायम भएको छ । माघमा बैंकहरुले औसत ब्याजदर व्यक्तिगततर्फ ४.६८ प्रतिशत कायम गरेका थिए । फागुनमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ पनि ब्याजदर घटेको छ । फागुनमा मुद्दती निक्षेपमा ब्याजदर संस्थागततर्फ औसत ३.३३ प्रतिशतमा झरेको छ । माघमा संस्थागततर्फ ३.३८ प्रतिशत ब्याजदर थियो ।

फागुन महिनाका लागि ९ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ११ बैंकले ब्याजदर स्थिर राखेका छन् ।

फागुन महिनाका लागी ब्याजदर घटाएका बैंकमध्ये मुद्दती निक्षेपमा कृषि विकास बैंकले ४.२५ प्रतिशत, एभरेष्ट बैंकले ३.५० प्रतिशत , नेपाल एसबीआई बैंकले २.७७ प्रतिशत, ग्लोबल आइएमई बैंकले ३.५० प्रतिशत, प्राइम कमर्सियल बैंकले २.७५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २.७५ प्रतिशत, सिद्धार्थ बैंकले ३.५० प्रतिशत, सानिमा बैंकले ३.३० प्रतिशत र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३.५० प्रतिशत ब्याज दिनेछन् ।

यस्तै, फागुनका लागी ब्याजदर स्थिर राखेका बैंकहरु मध्ये नेपाल बैंकले ३.२५ प्रतिशत, कुमारी बैंक ३.५० प्रतिशत, लक्ष्मी सनराइज बैंक ३.२५ प्रतिशत, सिटिजन्स बैंकले ३ प्रतिशत, प्रभु बैंकले २.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ३ प्रतिशत, एनएमबि बैंकले ४ प्रतिशत, हिमालयन बैंक ४ प्रतिशत, नबिल बैंकले ३.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत र एनआईसी एशिया बैंकले ४ प्रतिशत ब्याजदर दिनेछन् ।