चुनावको मुखमा नक्कली नोटको बिगबिगी, के गर्दैछ नेपाल राष्ट्र बैंक ?


काठमाडौं – यतिबेला दिनहुँ जस्तो नेपाल प्रहरीले नक्कली नोटसहित विभिन्न व्यक्तिहरूलाई पक्राउ गरिरहेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिइरहेको समयमा यस्ता गिरोहहरूलाई प्रहरीले पक्राउ गरेको हो।निर्वाचन नजिकिँदै गर्दा नेपालमा नक्कली नोटको कारोबारी सक्रिय बन्दै गएका छन्। यसले सुरक्षा व्यवस्थापनमा मात्रै नभई पुरै वित्तीय क्षेत्रलाई पनि चुनौती थपिदिएको छ। वित्तीय क्षेत्रमा नै नक्कली नोटले चुनौती दिइरहेको समयमा केन्द्रीय बैंकले पनि यसमा चासो दिएको छ।

सामान्यतया नगद कारोबार बढ्ने समयमामा बजारमा नक्कली नोटहरु बाहिरिने गरेको छ। नक्कली नोटको कारोबार ठूला चाडपर्व र चुनावका बेला धेरै हुने गरेको नेपाल राष्ट्र बैंकको निश्कर्ष छ। गत दशैंको समयमा नेपाल राष्ट्र बैंकले पैसा मिलाउँदै गर्दा पनि नक्कली नोट फेला पारेको थियो। निर्वाचनको समयमा अन्य समयमा भन्दा बढी ‘क्यास सर्कुलेशन’ बढ्छ। नेपाल राष्ट्र बैंकको तथ्यांकले नै पनि चुनावको समयमा ‘क्यास फ्लो’ बढ्ने गरेको देखाउँछ। केन्द्रीय बैंकका प्रवक्ता गुरु प्रसाद पौडेलकाअनुसार नगद कारोबारको सर्कुलेशन बढेको समयमा नक्कली नोट फेला पर्ने गरेको छ।

‘चुनावको समयमा करेन्सी सर्कुलेशन पनि बढ्ने गरेको छ, यस्तो समयमा फ्रड गर्नेहरुले नक्कली नोट प्रयोग गर्ने गरेको पाइन्छ’ उनले बैंकिङ्ग समाचारसँग भने, ‘केन्द्रीय बैंकको प्रादेशिक कार्यालयबाट पनि सूचना सम्प्रेषण गरिरहेका छौं।’ प्रवक्ता पौडेलकाअनुसार अहिले यसको नियमनका लागी ठोस काम गर्न सक्ने अवस्था नहुँदा प्रहरीसँग पनि केन्द्रीय बैंकले समन्वय गरिरहेको छ। उनले एउटा नक्कली नोटले नै पनि ठूलो जालोमा पुर्याइदिने भएकाले नक्कली नोट प्रयोग गरेको पाइएमा तत्काल प्रहरी, नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थामा सम्पर्क गर्नुपर्ने बताए।

अर्थतन्त्र नै जोखिममा
नक्कली नोटले अर्थतन्त्रमा नै पनि नकारात्मक प्रभाव पार्छ। नक्कली नोटले समग्र आर्थिक प्रणाली, मुद्राको विश्वसनीयतामा नकारात्मक असर गर्छ। नक्कली नोट बजारमा बढी आउन थालेपछि नगद कारोबारमाथिको विश्वास हराउँछ। अझैपनि नगद कारोबारमा नै अग्रसर रहेको नेपाल जस्तो मुलुकमा यसले थप चुनौती सिर्जना गर्छ।

नक्कली नोटले बढी स्थान लिँदा साना तथा मझौला व्यवसायहरू सबैभन्दा बढी प्रभावित हुन्छन्। ग्रामीण भेगको अर्थतन्त्रको प्रमुख क्षेत्र प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर समग्र अर्थतन्त्रमा नै पर्न जान्छ। अहिले खासगरी सीमा क्षेत्र र काठमाडौंमा नक्कली नोट बढी प्रयोग गरिएको पाइएको छ। प्रहरीले जानकारी पाएसम्मका त्यस्ता नोट बरामद गरिरहेको छ। नक्कली नोटले नेपाली मुद्राको छवि कमजोर बनाउँदै लैजाँदा अर्थतन्त्रलाई दीर्घकालमा धरापमा पार्न सक्ने यस क्षेत्रका विज्ञहरु बताउँछन्।

प्रहरीको सक्रियता
बजारभर नक्कली नोटको बिगबिगी बढ्दै गइरहेको समयमा प्रहरी पनि चनाखो बनेको छ। गत पुस १६ गते काठमाडौंको गोकर्णेश्वर क्षेत्रबाट नेपाली एक हजार दरका ९३ थान नक्कली नोट बरामद गरेको थियो। उक्त घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार बारा घर भई भारतको मोतिहारी लाला टोल–पतौना क्षेत्रमा डेरा गरी बस्ने रविकुमार श्रीवास्तवले ती नक्कली नोट छाप्ने गरेको खुलेको हो।

पुस २० गते नक्कली नोट नेपालमै छाप्न प्रयोग गरिने प्रिन्टिङ मेसिन, कम्प्युटर लगायतका सामग्री भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका थिए। नेपालमा आउने नक्कली नोटहरु सबैभन्दा बढी भारतबाट आउने गरेको पाइन्छ। केहीदिन अघिमात्रै भारतमा नक्कली नोट छापेर नेपालमा पैठारी गर्ने काममा संलग्नहरुमध्ये ३ जना नेपालीसहित १० जनालाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। भारत बिहार राज्यको सीतामढी जिल्लामा पूर्वी चम्पारण प्रहरी र स्पेशल टास्क फोर्स (एसटीएफ) ले गरेको संयुक्त कारबाहीमा नक्कली नोट छाप्ने कारखाना फेला पारेको थियो। सोहि कारखानामा छापा मार्ने क्रममा प्रहरीले २५ लाख नेपाली नक्कली नोट र एक हजार ८५० नक्कली भारतीय नोट बरामद गरेको हो।

यसबाहेक, हाइटेक प्रिन्टिङ मेसिन, नोट विशेष सादा २२ बण्डल कागज, रसायन लगायतका सामग्री बरामद गरेको थियो भने नक्कली नोट ओसारपसारमा प्रयोग हुने तीनवटा मोटरसाइकल र कार पनि बरामद गरेको हो। प्रहरी प्रवक्ता अविनारायण काफ्ले प्रहरीको सक्रियताका कारण पछिल्लो समय नक्कली नोटसँग सम्बन्धित घटनामा संलग्न व्यक्तिहरू धमाधम पक्राउ परिरहेको बताउँछन्। उनले नक्कली नोटको प्रयोगले आर्थिक गतिविधिमा नै नकारात्मक असर पार्ने बताए।

चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा प्रहरीमा नक्कली नोट सम्बन्धि एक दर्जन बढी उजुरी दर्ता भएको छ। मंसिर मसान्तसम्ममा मात्रै प्रहरीले ३१ जनालाई पक्राउ गरिसकेको छ भने त्यसबाट ३ लाख ८३ हजार रुपैयाँ बराबरका नेपाली र ७७ हजार रुपैयाँ बराबरका भारतीय नक्कली नोट बरामद गरेको छ। पुसमा पनि प्रहरीमा २ वटा मुद्धा दर्ता भएका थिए। जसबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले जसबाट २ लाख ६ हजार बढी नेपाली रुपैयाँ र १ लाख ५८ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरेको हो।

यहि माघमा पनि प्रहरीले नक्कली नोट कारोबारमा संलग्न ५ जनालाई पक्राउ गरिसकेको छ। माघ १४ गते मोरङबाट नेपाली नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ। पक्राउ परेका मोरङका सहमद हुसेन र महेन्द्र मेहतामध्ये हुसेनले नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट १ थान र उज्ज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो तिर्दा नेपाली रकम १ हजार जस्तो देखिने शङ्कास्पद नेपाली नोट दिएको सूचनाको आधारमा हुसेनलाई पक्राउ गरिएको हो।

साथै, हुसेनको सिटी सफारी खानतलासी गर्दा उक्त सिटी सफारीमा लुकाई छिपाई राखेको एक हजारको शङ्कास्पद नेपाली नोटहरू ३ थान गरी जम्मा ५ थान बरामद गरेको थियो। त्यस्तै, मेहताको घर खानतलासी गर्दा नेपाली रकम १ हजार जस्तो देखिने कागजको शङ्कास्पद नेपाली नोट ४ थानसमेत बरामद गरेको छ।

माघ १४ गते नै रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले जनालाई नक्कली नोटसहित भारतको सितामढी पर्सौनी बस्ने राकेश कुमार साह र सितामढी सिभवर परिषद्–४ बस्ने विक्रम कुमार पासवानलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट ५०० भारुको १ थान र २०० भारुको १० थान गरी जम्मा भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली जस्तो देखिने नोटहरू बरामद गरेको हो। यही माघ २२ गते हरिनगर गाउँपालिकाबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ एक हजार दरका २८ थान नोटसहित एक जनालाई पक्राउ गरेको छ। २५ वर्षीय बहिस मियाँले माघ २१ गते राति हरिनगरको एक किराना पसलमा सामान खरिद गर्दा नक्कली नोट दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।