उम्मेदवार तथा राजनीतिक दलले चन्दा–सहयोग पनि बैंक खातामै राखेर प्रयोग गर्नुपर्ने


काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ लाई लक्षित गरेर उम्मेदवार तथा राजनीतिक दलको आर्थिक गतिविधि नियमन गर्न कार्यविधि जारी गरेको छ। साे कार्यविधिअनुसार राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचनका बेला पाउने नगद सहयोग तथा चन्दा पनि बैंक खातामा राखेर मात्रै कारोबार गर्नुपर्ने भएको छ।

यस व्यवस्था अनुसार, राजनीतिक दल वा उम्मेदवारले नगद वा चेक जुनसुकै माध्यमबाट रकम प्राप्त गरेपछि खातामा जम्मा गरेर मात्रै रकम खर्च गर्नुपर्नेछ। कार्यविधिको दफा ६(२) मा २५ हजार वा त्यो भन्दा बढी आर्थिक सहयोग पाउने उम्मेदवारहरूले सोझै बैंक खातामा रकम प्राप्त गर्नुपर्ने व्यवस्था छ।

नयाँ कार्यविधिमा त्यो भन्दा कम रकम पनि खातामा राख्नुपर्ने व्यवस्था भएको हो। निर्वाचन आयोगले सरकार वा सरकारी बजेट परिचालन हुने ठाँउमा आर्थिक सहयोग लिन नपाइने व्यवस्था गरेको छ। पब्लिक कम्पनीहरूबाट पनि आर्थिक सहयोग लिन पाइने छैन।

अनि विदेशी सरकार, संस्था वा व्यक्तिबाट पनि सहयोग लिन नपाइने व्यवस्था छ। एक लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने व्यक्ति वा संस्थाको विस्तृत विवरण नै उम्मेदवारहरूले अभिलेख बनाएर राख्नुपर्ने व्यवस्था छ।