प्रहरी निरीक्षक आधारभूत तालिम दीक्षान्त समारोह सम्पन्न


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा सोमबार आयोजित विशेष समारोहबीच सोही प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औं (पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४औं) समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ। 

यस क्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ज्ञान, सिप र क्षमता विकासका लागि प्रशिक्षणका विभिन्न उतारचढाव, कठिनाइ अनि चुनौतीहरू पार गर्दै झन्डै १९ महिना पश्चात् आज दीक्षित भएका प्रहरी निरीक्षकहरूलाई हार्दिक बधाई दिँदै सफल एवम् उपलब्धिपूर्ण सेवा कालको लागि शुभकामना सहित पवित्र गरिमामय र नागरिक सेवामा समर्पित नेपाल प्रहरी सङ्गठनमा स्वागत समेत गरे। 

प्रहरी आम नागरिकले सुखमा भन्दा दुखमा, हर्षमा भन्दा पिडामा, कुनै पनि आपतविपत र समस्या पर्दा तत्काल सम्झिने नागरिकका दैनिक कार्यसँग अन्योन्याश्रित रहेको निकाय भएको र यो संगठनको सदस्य हुन पाउनुमा जति गर्व र सम्मान जोडिएको छ यो सँगै गाँसिएर आउने जिम्मेवारी र चुनौतीहरूका दायराहरू पनि त्यत्तिकै बृहत्त हुने उनले बताए। 

कार्कीले नागरिकका समस्या, पिडा र दुख राज्यको सम्बन्धित निकाय सम्म पुर्‍याइदिने संवाहक तथा राज्य उनीहरू सँगै रहेको अनुभूति दिलाउन सक्ने प्रतिनिधि पनि प्रहरी भएको चर्चा गर्दै नागरिकका अनगिन्ती समस्या, असीमित अपेक्षाहरूको सामना, समाधान र सहजीकरण गर्दै प्रथम पङ्क्तिमा उभिएर आफ्नो जिम्मेवारी वहन गर्दै आइरहेको बताए । सात दशकको इतिहास बोकेको नेपाल प्रहरीले अनेकौँ उतारचढाव बाबजुद हिम्मतका साथ अझ दरो भई नागरिकको सेवामा अनवरत रूपमा समर्पित रहेको उनले उल्लेख गरे। 

समारोहमा उक्त प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई शपथ ग्रहण गराएका थिए।

साथै उनले स्वागत मन्तव्य एवम् तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०८१ साउन २१ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा ९ महिला सहित कुल ९२ जना प्रहरी निरीक्षकहरू सहभागी भएकोमा सबै जनाले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिए।