काठमाडौं – सरकारले नेपाल प्रहरीलाई उपलब्ध गराउँदै आएको राशन भत्तामा चार वर्षपछि वृद्धि गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयको प्रस्तावमा गत १५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीको राशन भत्ता बढाउने तथा राशनमा समावेश सामग्रीको संख्या १६ बाट बढाएर १९ आइटम पुर्याउने निर्णय गरेको हो।
यसअघि प्रहरी कर्मचारीले १६ आइटम बराबरको रकम पाउँदै आएका थिए। बढ्दो महँगी, कार्य चाप र स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै सरकारले राशन भत्ता तथा सामग्रीमा सुधार गरेको जनाएको छ। नयाँ व्यवस्थाबाट ७९ हजार ५४१ प्रहरी कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन्।
मन्त्रिपरिषद्ले फागुन महिनादेखि लागू हुने गरी राशन रकममा १०.२७ प्रतिशतले वृद्धि गरेको छ। गृह मन्त्रालयका अनुसार १९ आइटमको नयाँ स्केल लागू गर्दा राज्यलाई वार्षिक करिब ३ अर्ब ६५ करोड रुपैयाँ अतिरिक्त आर्थिक दायित्व थपिने अनुमान छ। यो रकमले प्रहरीलाई खाजा र खाना गरी दैनिक चार पटक भोजनको व्यवस्था गर्नुपर्ने प्रावधान समेट्छ।
के–के थपिए नयाँ आइटम?
नयाँ स्केलअनुसार कुखुराको मासु, अण्डा र हाई–इनर्जेटिक बिस्कुट राशनमा थपिएका छन्। सुख्खा तरकारीको मात्रा ५० ग्रामबाट बढाएर ५५ ग्राम बनाइएको छ भने चामल दैनिक ६९० ग्रामबाट ७२० ग्राम पुर्याइएकाे छ। प्रहरीहरूले राशनबापत नगद नै प्राप्त गर्ने भएकाले जिल्ला दररेटअनुसार रकम फरक–फरक हुनेछ। काठमाडौं उपत्यकामा दैनिक राशन भत्ता करिब २ सय २१ रुपैयाँ ९२ पैसा पुगेको छ, जुन यसअघि २ सय १ रुपैयाँ २५ पैसा थियो। दुर्गम जिल्लामा भने यो रकम अझ बढी हुनेछ। हुम्लाजस्ता दूर दराज क्षेत्रमा दैनिक राशन भत्ता करिब ९५२ रुपैयाँ ३६ सम्म पुग्ने व्यवस्था गरिएको छ।
सेनासँग बराबरी हुँदा प्रहरीमा उत्साह
हाल नेपाली सेनाले २४ आइटम र सशस्त्र प्रहरीले १९ आइटम राशन पाउँदै आएका छन्। सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशन आइटम संख्या बराबर भएको छ। यसअघि २०७८ सालमा प्रहरीको राशन भत्ता १५ प्रतिशतले बढाइएको थियो, त्यसयता कुनै समायोजन भएको थिएन।

नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले लामो समयदेखि राशन व्यवस्थापनमा समस्या देखिँदै आएको बताए। ‘अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीको राशन कमजोर थियो। पर्याप्त राशन व्यवस्थापनले कर्मचारीको मनोबल, कर्तव्यपरायणता र कामप्रतिको लगनशीलता अझ सुदृढ हुन्छ,’ उनले भने। उनका अनुसार प्रहरी महानिरीक्षकको पहलपछि यो निर्णय सम्भव भएको हो। ‘महँगीअनुसार पुरानो रकमले नपुग्ने गुनासो थियो। अबको व्यवस्थाले प्रहरी कर्मचारीलाई कामप्रति थप हौसला मिल्नेछ,’ काफ्लेले भने।
मनोबल उकास्ने प्रयास
पछिल्लो समय विभिन्न आन्दोलन तथा सुरक्षा चुनौतीका कारण प्रहरीको मनोबलमा असर परेको चर्चा हुँदै आएको थियो। प्रवक्ता काफ्ले नयाँ निर्णयले प्रहरीमा सकारात्मक सन्देश जाने बताए। ‘नागरिकको साथ र समर्थनले प्रहरीलाई हौसला दिएको छ, राशन भत्ता वृद्धिले त्यो मनोबल अझ बलियो बनाउनेछ,’ उनले भने। सरकारको यो कदमले प्रहरी संगठनभित्र लामो समयदेखि उठ्दै आएको माग सम्बोधन गरेको छ। सुरक्षा निकायको कार्यक्षमता र अनुशासनसँग प्रत्यक्ष जोडिएको राशन व्यवस्थापनमा गरिएको सुधारले सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।





About Us
प्रतिक्रिया