काठमाडौं – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले खटाउने सम्पूर्ण जनशक्तिको बीमा व्यवस्था गरेको छ। आयोगका अनुसार निर्वाचन प्रक्रियामा संलग्न हुने २ लाख १३ हजार १६१ जना कर्मचारी तथा जनशक्तिको बीमा गरेको हो। निर्वाचनका क्रममा खटिने कर्मचारीको दुर्घटना जोखिमलाई ध्यानमा राख्दै २० लाख रूपैयाँसम्मको कर्मचारी दुर्घटना बीमा गरिएको आयोगले जनाएको छ।
उक्त बीमा ३० दिनसम्म लागू हुने व्यवस्था गरिएको छ। बीमामा आयोग तथा प्रदेश र जिल्ला निर्वाचन कार्यालयको स्वीकृत दरबन्दीअनुसार निर्वाचन प्रयोजनका लागि काममा खटिने कर्मचारी, मुख्य तथा सहायक निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी समावेश छन्।
साथै, मतदान केन्द्रमा खटिने कर्मचारी र मतगणना कार्यमा संलग्न कर्मचारीहरू पनि बीमाको दायरामा पर्नेछन्। निर्वाचन आयोगका अनुसार निर्वाचनलाई सुरक्षित, व्यवस्थित र जिम्मेवार बनाउन कर्मचारीको सुरक्षा प्राथमिकतामा राख्दै यस्तो व्यवस्था गरिएको हो।प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २९ गते हुने तय गरिएको छ।





About Us
प्रतिक्रिया