काठमाडौं – बैंकासुरेन्सको सन्दर्भमा हामीले उपयोग गरिरहेको मोडल बैंक संस्थागत अभिकर्ता भएर बीमाको प्रडक्ट बेच्ने मोडलमा गएको हो। बाहिर देशहरुमा ३/४ वटा मोडलहरु अपनाएको देखिन्छ। बैंकले बीमाका प्रडक्टहरुमा जानकारी गराइदिने अभ्यास छ। बैंक र बीमा कम्पनी मिलेर बीमाका स्पेसल प्रडक्टहरुको बारेमा सम्झौता गरेर काम गर्ने गरेको पनि देखिन्छ।
जसले बीमा ऐनले बैंकलाई संस्थागत अभिकर्ताको रुपमा लिएको छ। बैंक बीमाको संस्थागत अभिकर्ता भएर बीमाको प्रडक्ट बिक्री गर्ने खालको मोडल छ। कसरी बैंकासुरेन्स रोकियो भन्ने विषयमा बैंकिङ्ग क्षेत्रलाई नियमन गर्न नेपाल राष्ट्र बैंक छ र बीमा कम्पनीको नियमन गर्न बीमा प्राधिकरण छ। बैंकले बीमा कम्पनीको प्रडक्ट बिक्री गर्दा अपनाउनुपर्ने केही विधिहरु छन्। त्यस नीतिलाई स्पष्ट पार्न नसक्दा यो समस्या आयो कि जस्तो लाग्छ।
अब आगामी दिनमा दुवै नियामक निकाय मिलेर हामीले बीमाका प्रडक्ट कसरी बिक्री गर्दा बैंकका कर्मचारीहरुले के-के मापदण्डहरु अवलम्बन गर्नुपर्छ ति विषयहरु पनि स्पष्ट गरेर जानुपर्ने छ। बीमा प्राधिकरणले बैंकासुरेन्ससम्बन्धि कानूनी प्रावधान गरेको छ। बीमा ऐनमा नै स्पष्ट नीति भएकाले हामी राष्ट्र बैंकसँग सम्वन्वय गरेर अगाडी बढ्न सक्छौं। बैंकासुरेन्स खोलेर गयौं भने बीमाको बजार विस्तारमा सहयोग गर्छ। अहिले भएको मोडल भनेको संस्थागत अधिकर्तामार्फत् बीमाका प्रडक्ट बिक्री गर्ने भयो। त्यसमा प्राधिकरणले अभिकर्ताको आचारसंहिता भनेर निर्धारण गरेको छ । फोर्स सेलिङ गर्न नहुँने, मिस सेलिङ गर्न नहुँने, करकापमा बीमा गर्न नहुँने जस्ता विषयहरु हामीले स्पष्ट पारेका छौं। यो बिचमा १० वर्षसम्म चल्यो त्यसपछि बन्द भयो। नियमन बलियो नभएको हो भन्ने लाग्दैन।
बैंकासुरेन्स बीमा प्राधिकरणको नियमन कमजोर भएर रोकिएको भन्दापनि बैंकले बीमाका प्रडक्ट बेच्दा के मापदण्डहरु पूरा गर्ने भन्ने विषयमा स्पष्ट नहुँदा यो रोकिएको हो। प्राधिकरणले बीमा कम्पनी र मध्यस्तकर्ताको नियमन गर्ने सुपरिवेक्षण गर्ने विषयलाई स्पष्टसँग निर्धारण गरेका छौं। अभिकर्ताको विषयमा के गर्न हुने र गर्न नहुँने निर्धारण गरिसकेको सन्दर्भमा नियमन कमजोरको विषय आउँदैन। अब हामीले बैंकासुरेन्समार्फत बेच्नका लागी विशेष प्रडक्टहरु बनाउने हो भने यसको सन्दर्भमा के-के चुनौतीहरु आउन सक्छन् यसको विषयमा प्राधिकरणको भूमिका र राष्ट्र बैंकको भूमिका के हुने भन्ने विषय छुट्याएर जान सक्छौं।

अहिले ५० प्रतिशतको हाराहारीमा बीमाको पहुँच विस्तार भइसकेको छ। बीमा वितरण गर्ने विभिन्न च्यानलमध्यको एक हो बैंकासुरेन्स। व्यक्तिगत अभिकर्ताहरुपनि छन् भने सिधै पनि बिक्री हुन्छ। यस्तै, विभिन्न संघ संस्थाहरुमार्फत पनि बीमाका प्रडक्टहरु बिक्री गर्दै आइरहेका छौं। करिब ७ देखि ८ सय हाराहारीमा संस्थागत अभिकर्ताहरुबाट बीमाका पोलिसी बिक्री गर्दै आइरहेका छौं। बैंकासुरेन्स एक पक्ष हो तर सबै होइन। बैंकासुरेन्सले प्रडक्ट बिक्रीमा सहयोग गर्छ।
बीमा प्राधिकरणले संस्थागत अभिकर्ता र व्यक्तिगत अभिकर्ताको सन्दर्भमा बनाएको आचारसंहिता छ। त्यो एउटै छ। हामी यदि बैंकासुरेन्सको मोडलमा जाने हो भने बैंकले बेच्ने प्रडक्टको सन्दर्भमा यसलाई छुट्टै किसिमले हेर्नुपर्छ। हामी नियामक निकायले पनि छुट्टै फ्रेमवर्क बनाएर जानुपर्छ भन्ने लाग्छ। राष्ट्र बैंक र बीमा प्राधिकरण राज्यकै निकाय हो। वित्तीय प्रणलीको नियामक निकाय हुन्। हामी दुवै निकायको उद्धेश्य बीमामार्फत् आम नागरिरको जोखिम सुरक्षण गर्ने नै हो। बन्द भएको बैंकासुरेन्स खोलेर बीमाको पहुँच विस्तार गर्ने सन्दर्भमा सरोकारवालासँगको सहकार्यमा बीमा प्राधिकरणले भूमिका खेल्नेछ।
(नेपाल बीमा प्राधिकरणका निर्देशक अधिकारीले तेस्रो नेशनल इन्स्योरेन्स डिस्कोर्शको पहिलाे सत्र ‘बैंकासुरेन्स नीति, नियामक र बजारको वास्तविकता’ विषयक सत्रमा राखेकाे विचारमा आधारित)





About Us
प्रतिक्रिया