काठमाडौं – नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्षमा गरेको कारबाहीका कारण बीमा कम्पनीहरूमा सकारात्मक प्रभाव परेको देखिएको छ। प्राधिकरणले गत वर्ष समयमा वित्तीय विवरण नबुझाउने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने कम्पनीहरूलाई कारबाही गरेको थियो। प्राधिकरणले गत वर्षदेखि सुरु गरेको कारबाहीमा यस पटक नपर्न बीमा कम्पनीहरू चनाखो बनेका हुन्।
नियामकीय कारबाहीमा प्राधिकरण सक्रिय बनेपछि अधिकांश बीमा कम्पनीहरूले चालू आर्थिक वर्षमा समयमै नयाँ बोनसदर, लाभांश प्रस्ताव गरेर आफ्नो वार्षिक साधारण सभा डाक्नेतर्फ लागेको देखिएका हुन्। यसअघि भने केही कम्पनीहरू वर्षौंसम्म र अधिकांश कम्पनीहरूले तोकिएको समयमा सकिएपछि मात्रै साधारण सभा बोलाउने गरेका थिए।
यता, गत वर्षको कारबाहीको डरले यो वर्ष धेरै कम्पनीहरूले समयमै साधारण सभा बोलाउने तयारी थालेका हुन्। ‘कम्पनी ऐन, २०६३’ र ‘बीमा ऐन, २०७९’ अनुसार, आर्थिक वर्ष समाप्त भएको सामान्यतया ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरी लाभांश वितरण गर्नुपर्ने प्रावधान छ।
प्राधिकरणका अध्यक्षको भूमिकामा रहेर शरद ओझाले समयमा साधारण सभा नसक्ने ३० वटा बीमा कम्पनीहरुलाई ‘बीमा ऐन, २०७९’ को दफा १३४ को उपदफा १ को खण्ड क बमोजिम कारबाही गरेका थिए। यस्तै, ओझाले आगामी वर्षदेखि ऐनको दफा ८७ बमोजिम साधारण सभा नसक्नेलाई कम्पनीहरुलाई दफा १३८ को ७ बमोजिम वित्तीय जरिवाना लगाउने चेतावनी समेत दिएका थिए। यही चेतावनीअनुसार वित्तीय कारबाही भोग्नबाट बच्ने लक्ष्यसहित कम्पनीहरुले समयमा नै साधारण सभा सक्ने नीति लिएका हुन्।

यस्तै, पब्लिक कम्पनीको वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा २१ दिन अगाडी नै शेयरधनीहरूलाई निजहरूले कम्पनीलाई उपलब्ध गराएको ठेगानामा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय खोली सूचना पठाउनु पर्नेछ। सो विषयको सूचना कम्तीमा दुईपटक राष्ट्रियस्तरको दैनिक पत्रिकामा पनि प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्था नै छ।
बीमाको नियामक निकाय बीमा प्राधिकरणको नियमन कडा भएपछि कम्पनीहरूले संस्थागत सुशासनमा ध्यान दिन थालेको प्राधिकरणका निर्देशकहरू बताउँछन्। उनीहरूका अनुसार यसले शेयरधनीहरूको विश्वास बढाउन र बीमा क्षेत्रको पारदर्शिता मजबुत बनाउन समेत भूमिका खेलेको उनीहरूको बुझाइ छ।
लाभांश घोषणा गर्ने बीमा कम्पनी
बीमाकिंय मूल्यांकनको व्यवस्थाले गर्दा लाभांश घोषणामा ढिलाइ हुने गरेपनि यस वर्ष भने आज अर्थात् पुस ९ गतेसम्म १६ वटाले लाभांश घोषणा गरिसकेका छन्। उता, गत वर्ष समयमै वित्तीय विवरण पेश नगर्ने, वित्तीय विवरण स्वीकृत गर्दा राखेका सर्त पूरा नगर्ने, प्राधिकरणबाट तोकिएको मापदण्ड उल्लघंन गरेको भन्दै प्राधिकरणले ७ वटा लघु बीमा कम्पनी, १२ निर्जीवन बीमा कम्पनी, १२ वटा जीवन बीमा र एउटा पुनर्बीमा कम्पनीलाई कारबाही गरेको थियो।
प्राधिकरणको कारबाहीले बीमा कम्पनीहरूको काम कारबाहीमा पारदर्शिता आएको नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी बताउँछन्। उनकाअनुसार गत वर्ष प्राधिकरणले गरेको कारबाहीका कारण नै यस वर्ष बीमा कम्पनी बढी सचेत भएर समयमा नै लाभांश घोषणा गरेर एजीएम गराउनतर्फ लागेको बताए।
लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालः लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
रिलायबल नेपाल इन्स्योरेन्सः रिलायबल नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुष ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको हो।
सूर्यज्योति लाइफ इन्स्योरेन्स ः सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ।
नेशनल लाइफ इन्स्योरेन्सः नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट चुक्ता पूँजीको १२.५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। जसमा ४ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभांश छ।
सन नेपाल लाइफ इन्स्योरेन्सः सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २०.२६ प्रतिशत लाभांश वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५.२६ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर गरी कुल २०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रभु महालक्ष्मी लाइफः प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८.४२१ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको छ। कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले ४ प्रतिशत बोनस शेयर र ४.४२१ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
सानिमा रिलायन्स लाइफः सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.१७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरको हो।
आइएमई लाइफ इन्स्योरेन्सः आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकअनुसार आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल लाइफ इन्स्योरेन्सः नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २१.०५ प्रतिशत लाभांश दिने भएको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ को जम्मा २१.०५ प्रतिशतले हुन आउने रकम १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ शेयरधनीहरूलाई लाभांशको रुपमा प्रदान गर्ने निर्णय गरेको छ। जसमा कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश छ।
सिटिजन लाइफ इन्स्योरेन्सः सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी ५ अर्बको २० प्रतिशत अर्थात एक अर्ब रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ। मंसिर २४ गते सेको कम्पनी सञ्चालक समिति बैठकले नगद लाभांश दिने घोषणा गरेको हो।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार रुपैयाँको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
आईजीआई प्रुडेन्सियलः आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार ६ सय रुपैयाँको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
शिखर इन्स्योरेन्सः शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। संस्थाको पुष १ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर र ०.३१८५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
सलिकोः सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ६२ करोड २६ लाख ३५ हजार रुपैयाँको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।
नेपाल इन्स्योरेन्सः नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजारको ६.३१ प्रतिशतका दरले हुने १६ करोड ९ लाख ६२ हजार ६३१ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।
एनएलजी इन्स्यारेन्सः एनएलजी इन्स्यारेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनसहित ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
११ बीमा कम्पनीले डाके साधारण सभा
गत वर्ष समयमै एउटा कम्पनीले मात्रै साधारण सभा सम्पन्न गरेको थियो। तर, आजसम्मको स्थितीलाई हेर्ने हो भने ११ वटा कम्पनीले समयमा नै साधारण सभा सम्पन्न गर्नेगरी मिति नै तय गरिसकेका छन्।
गार्डियन माइक्रो लाइफः गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पुस १४ गते साधारणसभा आह्वान गरेको छ। सभा मोरङको विराटनगरस्थित होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्तापुँजी ७५ करोड रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सन नेपाल लाइफः सन नेपाल लाइफ इन्स्योरेन्सले पुस २५ गते शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रालिमा बिहान साढे १० बजे वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
प्रभु महालक्ष्मीः प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पुस २९ गते मंगलबार काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्यांक्वेट एन्ड इभेन्ट सेन्टरमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
रिलायबल नेपाल लाइफः रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पुस २९ गते साधारणसभा डाकेको छ। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सः सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले पुस २९ गते मंगलबार काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजे वार्षिक साधारणसभा डाकेको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
शिखर इन्स्योरेन्सः शिखर इन्स्योरेन्सले पुस २९ गते साधारण सभा डाकेको छ। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ। कम्पनीले पुस १४ गतेदेखि साधारणसभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
नेपाल इन्स्योरेन्सः नेपाल इन्स्योरेन्सले पुस २९ गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा ७७औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १४ गते बुकक्लोज गर्ने भएको छ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सः सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पुस २९ गते, मंगलबार, रानी महल ब्याङक्वेट, ज्ञानेश्वर, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १८ गते बुकक्लोज गर्ने भएको छ।
सूर्यज्योति लाइफ इन्स्योरेन्सः सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस ३० गते वार्षिक साधारण सभामा बोलाएको छ। सो सभा होटल ह्यारिसन प्यालेस, विराटनगरमा बिहान साढे १० बजे सुरु हुनेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १८ गते बुकक्लोज गर्ने भएको छ।
नेशनल लाइफः नेशनल लाइल इन्स्योरेन्सले पुस ३० गते, बुधबार, आफ्नो केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा ३८ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस १७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।
एनएलजी इन्स्योरेन्सः एनएलजी इन्स्योरेन्स कम्पनीले पुस ३० गते सिल्भर ओक ब्याट एन्ड ईभेन्ट्स सेन्टर काठमाडौंमा २० औं वार्षिक साधारण सभा बोलाएको छ। साधारण सभाको प्रयोजनका लागि पुस २२ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।
समयमै साधारण सभा नगर्ने बीमा कम्पनी प्राधिकरणले गतवर्षको तुलनामा यस वर्ष कडा कारबाही गर्ने तयारी गरेको छ। प्राधिकरणका प्रवक्ता समेत रहेका सुवेदीले गत वर्ष भन्दा यस वर्ष छिट्टै धेरै बीमा कम्पनीहरूले लाभांश घोषणा गरेको भन्दै अर्को वर्ष सबैको समयमा आउनसक्ने बताए। प्राधिकरणको नीति नियम थाहा हुँदा हुँदै नियम उल्लघंन गर्ने बीमा कम्पनीहरूलाई गत वर्षको तुलनामा थप कडा कारबाही गर्ने तयारी रहेको उनले बताए।







About Us
प्रतिक्रिया