आर्थिक सुरक्षाबाट ठगीको औजार बन्दै बीमा दाबी, नक्कली मृत्युदेखि योजनाबद्ध लुटपाटसम्म


काठमाडौं – जीवनमा अचानक आइपर्ने दुर्घटना, रोग वा मृत्युजस्ता अनिश्चित घटनाबाट हुने ठुलो आर्थिक क्षतिबाट जोगिन बीमालाई सुरक्षित उपायका रूपमा लिइन्छ। तर, पछिल्ला वर्षहरूमा यही बीमा प्रणाली अपराधको माध्यम बन्दै गएको छ। बीमाबाट ठुलो रकम हात पार्ने लोभमा नक्कली विवाह, योजनाबद्ध हत्या, झूटा दुर्घटना, कागजी मृत्युदेखि आफ्नै पसलमा लुटपाटको नाटकसम्म हुने गरेको घटनाहरू सार्वजनिक भइरहेका छन्।

बीमाकै लागि हत्या: सर्जन विक प्रकरण

२०७९ साल साउन १३ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँकेको कोहलपुरमा एक वर्षअघि हत्या गरिएका सर्जन विक प्रकरणमा संलग्न ६ जनालाई सार्वजनिक गर्याे। गरिब परिवारका युवक विकको २ करोड ५० लाख रुपैयाँ बराबरको जीवन बीमा गराएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको थियो।

सीआईबीका अनुसार मृतकसँग नक्कली विवाह गरेर बीमा रकम लिने सपना मल्ल, घटनाका मुख्य योजनाकार सञ्जीव अर्याल थिए। बीमा एजेन्ट सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने बहानामा चिनाइएका टोपबहादुर राना क्षेत्री, काठमाडौंमा बीमा भुक्तानी लिन सहयोग गर्ने दीपक केसी र सञ्जीव अर्यालसँग चिनजान गराउने ललिता सापकोटा समेत गिरोहमा संलग्न थिए।

वार्षिक आम्दानी करिब दुई लाख मात्र देखाइएका विकको नाममा २ करोड ५० लाख रुपैयाँको बीमा गराइएको थियो। २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको देखाइए पनि अनुसन्धानले यो योजनाबद्ध हत्या भएको पुष्टि गरेको थियो। इन्स्योरेन्सबाट प्राप्त रकम गिरोहले बाँडफाँट गरेको विवरणसमेत प्रहरीले सार्वजनिक गरेको थियो।

लुटपाटको नाटक

यस्तै, २०८१ साल असारमा चितवनमा बीमा रकमकै लोभमा आफ्नै पसल लुटपाट भएको नाटक रचेको घटना बाहिरियो। कालिका नगरपालिका–६ स्थित एक सुनचाँदी पसलमा लुटपाट भएको भन्दै पसल सञ्चालक विनोद सुनारसहित पाँच जना पक्राउ परे।

अनुसन्धानमा पसल सञ्चालक स्वयंले झूटा लुटपाटको योजना बनाई बीमा रकम र ऋण तिर्न फाइदा लिने उद्देश्य राखेको खुलेको थियो। धारिलो हतियार देखाएर २ करोड १७ लाख रुपैयाँभन्दा बढीको गहना चोरी भएको दाबी गरिए पनि त्यो सबै योजनाबद्ध ठगी रहेको प्रहरीले निष्कर्ष निकालेको थियो।

वैदेशिक रोजगार बीमा ठगी

२०७९ चैतमा वैदेशिक रोजगारको क्रममा मृत्यु भएका नेपाली कामदारका परिवारले पाउने बीमा रकम ठगी गर्ने गिरोहमा संलग्न ८ जना पक्राउ परे। यसमा वैदेशिक रोजगार बोर्डका कर्मचारी र बीमा कम्पनीका कर्मचारीसमेत संलग्न थिए। मृतकका आफन्तलाई ‘बीमा रकम दिलाइदिन्छु’ भन्दै विश्वासमा पारेर प्राप्त रकमको ठुलो हिस्सा आफैँ राख्ने गरिएको पाइएको थियो।

ठगीको बढ्दो प्रवृत्ति

यी घटनाहरू प्रतिनिधि घटनाका पात्र मात्र हुन्। सरोकारवालाहरूका अनुसार नेपालमा बीमाको माध्यमबाट हुने ठगीका यस्ता ठुला घटना प्रहरीको छुट्टै तथ्यांकमा समेत अभिलेख हुँदैनन्। झूटा दुर्घटना, नक्कली चोरी वा आगलागी, क्षति बढाइचढाइ गरेर दाबी गर्ने, नक्कली मृत्यु प्रमाणपत्र र झूटा मेडिकल रिपोर्ट पेस गर्ने जस्ता ठगीका तरिका व्यापक छन्।

केही घटनामा त बीमा रकम लिनकै लागि व्यक्ति विदेश गएको देखाएर नेपालमै मृत्यु दर्ता गराउने, अर्कै शवलाई आफ्नो भनेर प्रमाणित गर्ने प्रयास, वा स्वयं मृत घोषित भएको कागजात तयार पार्नेसम्मका काम भएको प्रहरी बताउँछन्।

भित्रैबाट हुने मिलेमतो

बीमामा हुने ठगी बाहिरी मात्र होइन, भित्री रूपमा पनि देखिन्छ। गलत विवरण राखेर बीमा गराउने, आम्दानी र स्वास्थ्यसम्बन्धी तथ्य लुकाउने, एजेन्ट र दलालको मिलेमतो, अस्पताल वा वर्कशपबाट फुलाइएको बिल तयार पार्ने, बीमा कर्मचारीकै संलग्नतामा दाबी स्वीकृत गराउने जस्ता उजुरीहरू पनि बढ्दै गएका छन्।

सुरक्षाको औजार कि अपराधको बाटो

बीमा मूलतः आर्थिक सुरक्षाको उपाय हो। तर, बीमाको रकमकै लोभमा हत्या, ठगी र जालसाजी बढ्दै जानुले प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ। सरोकारवालाहरू कडा नियमन, प्रभावकारी अनुसन्धान र बीमा कम्पनी–प्रहरीबीच समन्वय नबढाए बीमा प्रणाली अपराधको सुरक्षित बाटो बन्दै जाने चेतावनी दिन्छन्।

Skip This