काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले दायर गरेका रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनवाइ हुने भएको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीश टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा ओझासँग सम्बन्धित दुई वटा रिटमाथि एकैसाथ सुनवाइ हुन लागेको हो।
सरकारले अध्यक्ष पदबाट बर्खास्त गरेपछि ओझाले २३ भदौमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। अदालतले तत्काल नहटाउने आशयको अल्पकालीन आदेश जारी गरेको थियो। तर, उक्त आदेशका बाबजुद अर्थ मन्त्रालयले ओझालाई प्राधिकरणमा हाजिर हुन नदिएपछि उनले अदालतको अवहेलना भएको भन्दै दोस्रो रिट दायर गरेका थिए। आज दुवै रिटमाथि संयुक्त रूपमा सुनवाइ हुन लागेको हो।
यसअघि जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत परिसरमा भएको आगजनीबाट छानबिन प्रतिवेदन जलेपछि अदालतले अर्थ मन्त्रालयबाट सो प्रतिवेदन झिकाउन निर्देशन दिएको थियो। तर, अर्थ मन्त्रालयका कर्मचारीहरूले प्रतिवेदन पेश नगरेका कारण त्यसबेला सुनवाइ हुन सकेको थिएन। २ पुसमा तोकिएको सुनवाइसमेत अर्थ मन्त्रालयका अधिकारीहरूको आग्रहमा स्थगित गरिएको थियो।
अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भए पनि अर्थ मन्त्रालयले ओझालाई प्राधिकरणको अध्यक्षका रूपमा कामकाज गर्न नदिई आन्तरिक राजस्व विभागका उपमहा निर्देशक जनक शर्मालाई जिम्मेवारी दिएको थियो। अदालतमा अवहेलनाको मुद्दा दायर भएपछि भने शर्माले अध्यक्षका रूपमा सक्रियता देखाउन छाडेको प्राधिकरणका अधिकारीहरूले बताएका छन्।







About Us
प्रतिक्रिया