शेयरको मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ 


काठमाडौं – शेयर कारोबारी दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले शेयर कारोबारी अग्रवाललाई आज पुन: पक्राउ गरेको हो। उनलाई धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा पक्राउ गरेको सीआईबीले जनाएको छ।

यसअघि उनी साउन ५ मा पक्राउ परेर छुटेका थिए। त्यसबेला ठगी र अपराधिक लाभ लिन नहुने कसुरमा पक्राउ परेका थिए। उनलाई काठमाडौँको चुनादेवीबाट पक्राउ गरी थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

उनले ३९ लाख १९ हजार कानुन विपरीत नाफा आर्जन गरेको सीआईबीको भनाइ छ। सीआईबीका अनुसार उनले अरूको टिएमएस युजरको प्रयोग गरी आपसी खरिद बिक्री गरेका छन्। साथै, स्वामित्व नबढ्ने गरी कारोबार गरी कपोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको छ ।