बैंक तथा वित्तीय संस्थाले चार महिनामा निजी क्षेत्रमा प्रवाह गरे ६५ अर्ब कर्जा


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना (साउन–कात्तिक) मा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.२ प्रतिशतले बढेकाे उल्लेख गरेकाे छ। केन्द्रीय बैंकले चार महिनाको तथ्यांकमा आधारित देशको आर्थिक स्थिति सार्वजनिक गर्दै समिक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ६५ अर्ब ४ कराेडले बढेकाे उल्लेख गरेकाे हाे।

समिक्षा अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा ६५ अर्ब ४ करोडले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२८ अर्ब ४७ करोड रूपैयाँ (२.५ प्रतिशत) ले बढेको थियो। वार्षिक विन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.९ प्रतिशतले बढेको छ।

राष्ट्र बैंककाअनुसार २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फप्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्यबैंकहरूको र वित्त कम्पनीहरूका कर्जा प्रवाह १.३ प्रतिशतले बढेको छ भनेविकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेकोछ। २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ। २०८१ कात्तिक मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.० प्रतिशत रहेको थियो।